FLASH NEWS
  • Loading...

बेनी अस्पतालको एक्सरे मेशीन विग्रपछि विरामीलाई सास्ती

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७० पटक पढिएको
बेनी अस्पतालको एक्सरे मेशीन विग्रपछि विरामीलाई सास्ती

बेनी अस्पतालमा प्रवासीले दिएको एउटै डिजिटल एक्सरे (सिआर) मेशीन विग्रेएपछि विरामीले सास्ती पाएका छन । अस्पताल भित्र सुलभ मुल्यमा पाईने एक्सरे सेवा लिन विरामी बाहिर निजी क्लिनिकमा जानु पर्दा महंगो मुल्य तिर्न बाध्य बनेका छन ।
अस्पताल प्रशासनका अनुसार एक्सरेको प्रीन्टर विग्रेको चार महिनाबढी भयो । प्रिन्टर विग्रेपनि डाक्टरहरुले स्क्यान गरेको इमेजलाई मोवाइलमा तानेर हेरी सेवा दिंदै आएका थिए । एक महिनादेखी स्क्यानर पनि विग्रेपछि अस्पतालले एक्सरे सेवा पुरै वन्द गरेको छ ।
‘एक्सरे (सिआर) मेशीन मर्मत गर्न १५/१६ लाख लाग्छ, अस्पतालसँग त्यत्रो बजेट छैन । चार महिना अघि नै एक्सरे मेशीन विग्रेकोले मर्मत गरीदिन आग्रह गऱ्यौं । तर मन्त्रालयले रेस्पोन्स नै गरिदिएन । त्यसैले सेवा वन्द गरेका छौं’ बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जीतेन्द्र कंडेलले भने, ‘मन्त्रालयलले रेस्पोन्स नगरेपछि नयाँ ब्यवस्थापन समिति गठन भै आएकोले अस्पतालको आन्तरिक श्रोतबाट नयाँ एक्सरे मेशीन खरिद प्रकृया शुरु गरेका छौं ।’
अहिलेको एक्सरे मेशीन पनि अस्पताल वा श्वास्थ्य मन्त्रालयले खरिद गरेको होईन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले पाँच वर्ष अघि ११ लाख ४६ हजारमा डिजिटल प्रविधीको एक्सरे मेशीन ल्याई बेनी अस्पतालमा सेटअप गरिदिएका हुन । मोना हङकङले एक्सरे मेशीन मात्र होईन, मर्मत संभारकालागी ६ लाख ६५ हजारको अक्षय कोष पनि बनाई दिएको थियो ।
‘एक्सरे मेशीन विग्रेर सेवा वन्द छ । मेशीन मर्मतकालागी अक्षय कोषबाट प्रयास गर्ने र मर्मत संभव नभए नयाँ मेशिन खरिद गर्न दातासँग कुरा गरिरहेका छौं’ बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले भने, ‘अस्पतालको सेवा तत्काल सुचारु गर्न खरिद प्रकृया शुरु गर्ने र सो अवधिमा श्रोतको खोजी पनि गरिरहेका छौं । केही सहयोग जुट्ने आश्वासन पनि पाएका छौं ।’