FLASH NEWS
  • Loading...

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लाग्याे

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३१ पटक पढिएको
युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लाग्याे

युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । 

इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको बताउनुभएको छ । 

इनरहोडारका मेयर ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिनुभएको थियो । 

रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए । 

युक्रेनमा यो समय चार वटा आणविक प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जापाेरिज्या प्लान्ट पनि रहेको बीबीसीमा उल्लेख छ । 

यस प्लान्टमा परमाणु स्थल चर्नोबिलको परमाणु फोहर पनि ल्याउने गरिन्छ । चर्नोबिल अहिले रुसको कब्जामा छ । 

युक्रेनको जापोरिज्या क्षेत्रीय प्रशासनका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सुरक्षा ‘सुनिश्चित’ गरिएको बताएका छन् । आफूले ऊर्जा केन्द्रका निर्देशकसँग कुरा गरेको भन्दै एलेक्सान्डर स्त्रारुखले सुरक्षा सुनिश्चित गरिएको कुरामा आफूलाई आश्वस्त पारिएको सामाजिक सञ्जालमा लेख्नुभएकाे छ । 

यसैबीच द इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) ले आफूहरू युक्रेनका अधिकारीहरूकाे सम्पर्कमा रहेकाे बताएकाे छ । प्लान्टका एक प्रवक्ताले रुसी सेनालाई गाेलीबारी बन्द गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका बीबीसीले जनाएकाे छ ।