FLASH NEWS
  • Loading...

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने, धेरै स्थानमा वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९१ पटक पढिएको
शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने, धेरै स्थानमा वर्षाको सम्भावना

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् ।

मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ । केही स्थानमा असिना पानी परिरहेको छ ।

बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्ने संभावना छ ।

नेपालमा डिसेम्बरदेखि फेब्रुअरी महिना (मंसिर १५ देखि फागुन १६ गते)सम्मको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा हिउँदयाममा भएको वर्षाको तथ्यांकको आधारलाई निकालिएको सरदर वर्षाको तथ्यांक हेर्दा यस वर्ष शतप्रतिशत वर्षा भइसकेको छ । यस वर्षको हिउँदयाम सकिन अझै केही दिन बाँकी नै छ ।