FLASH NEWS
  • Loading...

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट फागुन १८ बाट

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३७ पटक पढिएको
नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट फागुन १८ बाट

 सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट सुरु हुने भएको छ ।

आयोजक नेपालस्थित पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जनाएको हो ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् ।

समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए रहेका छन् ।

समूह ‘सी’ मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्नेछ ।

युवाहरुलाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए ।

राजदूत शाहले यस प्रतियोगिता पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीहरुका लागि एउटा प्लेटर्फमको रुपमा रहेको बताए ।

खड्काले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टिममा नपरेका खेलाडीहरुलाई मौका प्रदान गर्नु रहेको बताए ।

‘तर यस प्रतियोगितामा सहभागिता जनाएका खेलाडीहरुले राष्ट्रिय, फ्रेन्चाइज लिग, जिल्ला तथा प्रादेशिक टिममा अवसर प्राप्त गरेका छन्’ खड्काले थपे ।

प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ ।

पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरिएको थियो ।