FLASH NEWS
  • Loading...

कामदारदेखी मालिकसम्म–१

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५० पटक पढिएको
कामदारदेखी मालिकसम्म–१

आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउँछ । सपना देख्नेहरु कहिल्यै थाक्दैनन, निरन्तर कर्म गरिरहन्छन । तिनै भुईमान्छेहरुमध्य एक हुन, टंकलाल श्रेष्ठ  ।
होटलहरुमा भाँडा धुने मजदुरका रुपमा छुट्टाछुट्टै आएका टंक म्याग्दीमा अहिले होटल ब्यवसायी अर्थात मालिक बनेका छन । कोरोना कहरले पर्यटन ब्यवसाय थलिएको बेलामा पनि हिम्मतिला टंकलालले ७ करोड बढी लगानीमा होटल संञ्चालन थालेका हुन ।
घरमा गरिवीले सताएपछि मजदुरी खोज्दै १५ बर्षको कलिलो उमेरमा काभ्रेको धुलिखेलका टंकलाल श्रेष्ठ म्याग्दीमुस्ताङ तिर हानिएका थिए । ०५३ सालमा काठमाण्डौको गंगवुबाट एक सय रुपैयाँ बस भाडा तिरेर बाग्लुङ ओर्लेपछि दुई दिन हिंडेर मुस्ताङको लेते पुगेर, होटलमा भाँडा धुन थाले ।

चार वर्ष मुस्ताङको चिसो पानीमा भाँडा धोएपछि टंकलालले बेनीको होटल यतीमा पाहुनाका जुठा भाँडा धुन आई पुगे । दुवै पर्यटन क्षेत्रमा चलेका होटल थिए । बेनीको होटल यतिमा ९ वर्ष मजदुरी गर्दा श्रेष्ठले भाँडाधुँदै विस्तारै खाना पकाउन सिके र सिके होटल ब्यवस्थापन सीप ।
यति होटलमा कार्यरत रहँदै श्रेष्ठले नुवाकोटकी दुर्गासँग विवाह गरे । विवाहपछि श्रेष्ठले गलेश्वर स्थित एक होटल भाडामा चलाए । अर्काको होटल सँधै आफ्नो जस्तो कहाँ हुन्थ्यो, होटलधनीले सम्झौता रद्ध गरे । त्यसपछि श्रेष्ठले गलेश्वरमै घर भाडामा लिएर फेरी मदरल्याण्ड होटल चलाए । हातमा मीठो खाना पकाउने सीप थियो । मिठो वोलीवचन । वचन विज्ञापनकै भरमा होटल राम्रो चल्यो । मुस्ताङ जाने र फर्कने आन्तरिक तथा भारतिय पर्यटकको घुईचो लाग्थ्यो ।


ब्यवसाय फस्टाएपछि श्रेष्ठले बेनी–जोमसोम सडक अन्र्तगत बेनीदेखी तीन किलोमिटर उत्तर बेनी गलेश्वरमा ७ करोड लगानी गरी ठुलो र सुविधायुक्त ‘होटल ताजमहल लज एण्ड रेष्टुरेन्ट’ संञ्चालन गरेका छन । होटलमा ४ वटा सावर टवसहितका डिलक्स रुमसहित ३६ वटा अट्याचरुम सहितका कोठा छन । त्यहाँ एक सय जना पाहिना सजिलै अट्न सक्छन । होटलमा बास बसेको कोठाको एक रातको एक हजारदेखी ३ हजार रुपैयाँ भाडा तोकेका छन । होटलमा थकाली, इन्डियन, चाइनिज, नेपाली र कन्टीनेन्टल खानाखाजा पाक्छ । अहिले होटल ब्यवसाय सुस्ताएको अवस्था रहेकोले परिवारबाहेक तीन जनालाई रोजगारी दिएका छन ।
‘घरबाट बाटो लाग्दा पाईला दाहिना परेको रहेछ । होटलमा भाँडामाझ्दा पनि कहिल्यै साहुको हप्की खानु परेन । बरु तलवसँगै एक/दुई हजारस टिप्स हात पऱ्यो । होटलमा सीप सिक्ने अवसर पाएकैले ब्यवसाय गर्ने आँट आएको हो’ होटल ताजमहल लज एण्ड रेष्टुरेन्टका संञ्चालक रहेका टंकलाल श्रेष्ठले भने, ‘पाहुनाहरुकै हौसला र सुझाव अनुसार होटल पूर्वाधारमा लगानी बढाएको हुँ । कोरोना कहरको यो सयममा पनि फाट्टफुट्ट पाहुना आएकै छन । परिस्थिती सहज भए होटल राम्रो चल्ने ठानेको छु ।’