FLASH NEWS
  • Loading...

फेरि हिउँदे वर्षा सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८८ पटक पढिएको
फेरि हिउँदे वर्षा सुरु

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधबार राति देखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहिबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरी आंशिक देखि सामान्य बदली रहने माैषम विभागले जनाएकाे छ।

यस प्रणालीको प्रभावले बिहिबार सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।

शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । 

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्नेछ। यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।