FLASH NEWS
  • Loading...

‘ओमिक्रोन प्राकृतिक खोपजस्तै, यसले मानिसको प्रतिरक्षा शक्ति बढाउँछ’

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१६ पटक पढिएको
‘ओमिक्रोन प्राकृतिक खोपजस्तै, यसले मानिसको प्रतिरक्षा शक्ति बढाउँछ’

छिमेकी देश भारतमा ओमिक्रोन संक्रमणका केसहरु बढिरहेका छन् । यसको संक्रमण बढेर फेरि धेरै मानिसहरुको मृत्यु हुन सक्ने डर बढिरहेका बेला भारतका शीर्ष स्वास्थ्य विशेषज्ञहरुले भने ओमिक्रोन भेरिएन्ट कोरोनाको प्राकृतिक खोपजस्तै भएको बताएका छन् । डाक्टरहरुले यसको कारण संक्रमितहरुमा कुनै लक्षण नदेखिनु वा मध्यम खालको लक्षण मात्र देखिनु भएको बताएका छन् । शीर्ष डाक्टरहरुका अनुसार ओमिक्रोनबाट संक्रमित भएपछि मानिसहरु गम्भीर रुपले बिरामी हुँदैनन् बरु यसको सकारात्मक प्रभाव यो हुन्छ कि यसबाट शरीरमा कोरोनाविरुद्ध एन्टिबडी बन्छ ।

इम्युनोलोजिस्ट डा. गोवद्र्धन दासले ओमिक्रोन डेल्टा भेरिएन्टकै माइल्ड अर्थात मध्यम रुप भएको बताए । उनका अनुसार भलै यो भेरिएन्टका म्युटेशन धेरै छन् तर यसको संक्रमणपछि निकै कम मानिसहरु मात्र अस्पताल जानु परेको छ । आउटलुक म्यागजिनसँग कुरा गर्दै जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक र प्रख्यात इम्युनोलोजिस्ट डा. गोवद्र्धन दासले ओमिक्रोन कोरोनाको प्राकृतिक खोप भएको आफूलाई विश्वास भएको बताए ।

उनका अनुसार समयको साथसाथै भाइरस कमजोर भएको छ । आज वैज्ञानिकहरुले यस्तै किसिमको भाइरसको प्रयोग गरेर खोप बनाउँछन् । खोपमार्फत भाइरसको कमजोर रुपलाई मानिसको शरीरमा इन्जेक्ट गरिन्छ जसबाट मानिसको शरीरमा एन्टिबडी बन्छ । डा. दासका अनुसार धेरै म्युटेशन मानिसको शरीरको लागि राम्रो हो । उनी मान्छन् कि हामी जति धेरै भाइरससँग लड्छौं हाम्रो प्रतिरक्षा प्रणाली कोरोनाविरुद्ध उत्तिकै बलियो हुन्छ । डा. दासका अनुसार ओमिक्रोन यतिबेला कोरोनाविरुद्ध उपलब्ध सबैभन्दा प्रभावकारी खोप हो ।

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)का वैज्ञानिक डा. एन के मेहराका अनुसार ओमिक्रेन हाम्रो लागि वरदान साबित हुन सक्छ । यद्यपि यो भेरिएन्टबाट हरेक देशमा एउटै किसिमको संक्रमण हुन्छ वा हुँदैन भन्ने हेर्न बाँकी नै छ । डा. मेहराका अनुसार स्थिति जे जस्तो भए पनि हामीले कोरोना प्रोटोकल पच्छ्याउनु जरुरी छ । यो यसकारण किनकि यदि बिरामीहरुको संख्या बढ्यो भने देशको स्वस्थ्य संरचनामा फेरि संकट आउन सक्छ ।

म्याक्स हेल्थकेयरका ग्रुप मेडिकल निर्देशक डा. सन्दिप बुधिराजा पनि ओमिक्रोनले प्राकृतिक खोपले जस्तो काम गर्ने तर्कसँग सहमत छन् । उनका अनुसार ओमिक्रोन कमजोर हुनु ती गरिब देशहरुको लागि राम्रो हो जहाँ खोप लगाउने काम नगण्य मात्रै भएको छ । उनका अनुसार यो भेरिएन्टले कम लक्षणका साथ धेरै मानिसहरुलाई संक्रमित गर्नेछ जसबाट जनसंख्याको ठूलो हिस्सा भाइरसविरुद्ध इम्युन हुनेछ । डा. बुधिराजाले अहिले अलग अलग देशहरुको डाटाको विश्लेषण गर्नु जरुरी रहेको बताए ।

पुणेको डिवाइ पाटिल मेडिकल कलेजका प्राध्यापक डा. अमिताभ बनर्जीका अनुसार भाइरस प्रकृतिमा जीवित रहनको लागि प्रकृतिको अनुकुल ढल्दै जान्छन् । कोरोनाभाइरसको साथमा पनि यस्तै भइरहेको छ । यो नयाँ भेरिएन्टको रुपमा धेरै संक्रामक त छ तर प्रकृतिको अनुकूल कमजोर पनि छ । डा. बनर्जीका अनुसार प्राणघातक भाइरस एक व्यक्तिलाई संक्रमित गरेर त्यही व्यक्तिसँगै मर्छ । तर, त्यसको माइल्ड (मध्यम) भेरिएन्ट प्रकृतिमा जीवित रहेर तीब्र रुपमा फैलिन्छ र मानिसहरुको प्रतिरक्षा शक्ति बढाउँछ । *समाचार डिसीनेपालमा प्रकाशित छ ।