FLASH NEWS
  • Loading...

खाजाको पैसा अभिभावकलाई, बालबालिकालाइ जंकफुड

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५४ पटक पढिएको
खाजाको पैसा अभिभावकलाई, बालबालिकालाइ जंकफुड

सामुदायीक विद्यालयको आधारभुत तह १–५ अध्ययनरत वालवालिकालाई समान पोषणयुक्त खाजा खुवाउन सरकारले स्थानीय पालिका मार्फत एक जना विद्यार्थीलाई १५ रुपैयाँ दिवा खाजा पठाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवा खाजा ब्यवस्थापनमा एकरुपता ल्याउन सहयोगी पुस्तिका तयार पारी ६० थरिका खाजाको मेन्यु नै तयार पारेको छ । तर यहाँका अधिकांश विद्यालयले विद्यार्थीलाई खाजा बनाई खुवाउनुको सट्टा अभिभावकलाई नै नगद नै पैसा बाँड्ने गरेका छन ।


‘विद्यालयमा खाजा बनाउने छुट्टै स्थान अभावले खाजा बनाउन सकेका छैनौं । विद्यालयमा दैनिक हाँजिरीको आधारमा अभिभावकलाई नगद नै दिने गरेका छौं । अभिभावकलाई जंकफुड नपठाउन भनेका छौं’ बेनी नगरपालिका, ८ कालीपुल स्थित वालमन्दीर आधारभुत विद्यालयका प्रध्यानअध्यापक सुरेन्द्र कार्कीले भने, ‘बजार क्षेत्रमा भएको अधिकांश विद्यार्थी मजदुरका छोराछोरी छन । अभिभावकले पनि सजिलोको रुपमा विद्यार्थीलाई पैसा दिएरै पठाउँछन । स्कुलको कम्पाण्डमा चाउचाउ, विस्कुटको पसल छ, त्यही किन्छन ।’
जङ्कफुड’मा प्रतिवन्ध लगाउँदै स्थानीय कृषी उत्पादनलाई प्राथमिकतामा राखेर पोषणयुक्त दिवाखाजा खुवाउनु पर्ने भएपनि अभिभावकले भने चाउचाउ, विस्कुट, पाउरोटी दिएर पठाउने गरेका छन । ग्रामिण भेगका विद्यालयमा भन्दा सदरमुकाम र बजार छेउका विद्यालयमा झन बढी समस्या छ ।
दिवा खाजा ब्यवस्थापनमा सहयोगी पुस्तिकाले हरेक पालिकाले आफ्ना मातहका सवै विद्यालयमा विद्यार्थीको दिवा खाजाको दैनिक फरक–फरक परिकार हुने गरी ‘मेन्यु’ तयार पार्न लगाई कार्यान्वयन गर्नु पर्ने जिम्मेवारी तोकोको छ । तर स्थानीय पालिकाहरुले विद्यालयमा दिवा खाजालाई १५ रुपैयाँको खाजा मात्र बुझेकोले उद्देश्य अनुसारको चासो र सकृयता देखाएका छैनन ।
पोषणयुक्त खाना अभावले वालबालिकामा कुपोषण भै पुड्को, अल्पपोषण जस्ता समस्या देखिएपछि संघिय सरकारले विद्यालयमा सवै विद्यार्थीलाई सँधै एउटै गुणस्तरको खाना खुवाउने हुँदा पोषणमा सुधार ल्याउन दिवा खाना कार्यक्रम लागु गरेको हो । दिवा खाजाले वालबालिकाको उपस्थिती बढ्ने, विद्यालय छोड्ने दर घट्ने र पोषण सुधार भै शैक्षिक उपलब्धीमा सुधार ल्याउने उद्देश्य छ ।


‘बेनी भित्रका सवै ५६ वटै विद्यालयमा मापदण्ड अनुसार दिवा खाजाको मेन्यु बनाई सोही अनुसार कार्यान्वयनमा लैजाने तयारीमा छौं’ बेनी नगरपालिका स्राेत व्यक्ती जयराम सुवेदील्े भने, ‘सहरी क्षेत्रमा विद्यालयले खाजा बनाई खुवाउन नमान्ने रहेछन । ज्यादै न्युन संख्यामा विद्यार्थी भएको विद्यालयमा पनि तोकिएको रकममा खाजा बनाउन समस्या हुने रहेछ ।’
जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिका भित्रका केही विद्यालयले दिवा खाजाको मेन्यु तयारपारी कार्यान्वयन पनि गरेका छन । अन्नपूर्ण गापा, ३ दाना स्थित ज्ञानप्रकाश माध्यामिक विद्यालय, सरस्वती आधारभुत विद्यालय समेतका दर्जनबढी विद्यालयले भने स्थानीय रुपमा उपलब्ध हुने कृषी उत्पादनलाई प्राथमिकता राखेर खाजा मेन्यु बनाई कार्यान्वयन गरेको जनाएका छन ।
‘हामीले बालवालिकालाई आवश्यक पोषकतत्व (क्यालोरी, प्रोटिन, चिल्लो) तथा सुक्ष्मतत्व (आयोडिन, आइरन, भिटामिन, जिङ्क)आदी पाईने खाद्य पदार्थ मिलाई दैनिक आलोपालो खाजा बनाउने गरी मेन्यु बनाएका छौं’ अन्नपूर्ण गाउँपालिका, ३ दान स्थित ज्ञानप्रकाश माध्यामिक विद्यालयका प्रध्यानअध्यापक सान्तकुमार नेपालीले भने, ‘नुन, चिनी, तेल र मसला बाहेक स्थानीय कृषी उत्पादनलाई मिलाएर बनाउने हो भने बालवालिकालाई १५ रुपैयाँ भित्र राम्रो खाजा बन्ने रहेछ ।’


शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीको अभिलेख अनुसार जिल्लामा प्रारम्भीक वाल विकासमा ३ हजार ५ सय ९९ जना र आधारभुत तह १–५ कक्षामा १० हजार ८ सय ९६ जना बालबालिका अध्ययनरत छन । विद्यार्थीले कम्तीमा १ सय ८० दिन हाँजिर भएको प्रमाणको आधारमा स्थानिय पालिकाले सोझै विद्यालयको खातामा बालबालिकाको दिवा खाजाको रकम निकासा दिने ब्यवस्था छ ।
‘केही जाँगरिला र जिम्मेवार विद्यालयले बाहेक जिल्लाका अधिकांश विद्यालयले बालबालिकालाई दिवा खाजा बनाएर खुवाउनुको सट्टा अभिभावकलाई नगद नै रकम दिने गरेका छन । खाजाको पैसा अभिभावकले लैजाने र विद्यार्थी दिनभर भोक हुने गरेको गुनासा पालिकामा सुझाएका छौं’ शिक्षा तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा मगरले भने, ‘ज्यादै न्युन विद्यार्थी भएका ठाउँमा विद्यार्थीको खाजा रकम १५ रुपैयाँले खाजा बनाउन नसकिने भए अभिभावकसँग थप ५ रुपैयाँ थप्ने र शिक्षकहरुको समेत थप्ने हो भने राम्रो खाजा बन्छ ।’