FLASH NEWS
  • Loading...

नेप्से ११ महिनायताकै न्यून बिन्दुमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७१ पटक पढिएको
नेप्से ११ महिनायताकै न्यून बिन्दुमा

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ८८.७० अंक घटेर २ हजार ३ सय २१.२७ बिन्दुमा ओर्लिएको छ । यो करिब ११ महिनायताकै न्यून हो । यसअघि २०७७ माघ ७ मा नेप्से परिसूचक २ हजार ३ सय ६१.६९ बिन्दुमा थियो । त्यसपछि बढ्न थालेको नेप्से गत भदौमा करिब ३ हजार २ सयको उच्च बिन्दुमा पुगेको थियो । त्यहाँबाट फर्किन थालेको नेप्से आइतबार २४ सयभन्दा तल ओर्लिएको हो । उक्त दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक उच्च अंकले घटेपछि समग्र नेप्से भारी अंकमा घटेको हो ।

पछिल्ला दिनमा निरन्तर घटेको सेयर बजारमा आइतबार पनि भारी अंकको गिरावट आएको हो । बजारमा तरलता संकट बढिरहेको, सरकारी खर्च अपेक्षित रुपमा नभएकाले तत्काल सेयर बजार बढिहाल्ने अवस्था नरहेको जानकारहरू बताउँछन् । सेयर बजारमा नेप्से परिसूचकमा भारी गिरावट आएपछि कारोबार रकममा अघिल्लो दिनको तुलनामा केही सुधार भएको छ । आइतबार बजारमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

गत बिहीबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजार निरन्तर घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्तालाई ‘मार्जिन कल’ आउन थालेको छ । न्यूनतम ‘मार्जिन’ कायम गर्नकै लागि पनि लगानीकर्ताले सेयर बाध्य भएर सेयर विक्री गर्न थालेका छन् । यसले बजारमा सेयरको बिक्री चाप बढाएको ब्रोकरहरूले बताएका छन् ।

परिसूचक घटेपछि सयेर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३३ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । गत बिहीबार कुल बजार पुँजीकरण ३४ खर्ब ४४ अर्ब रुपैयाँ थियो । सेयर बजारको लगानी अनुत्पादनक रहेको नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । यसले पनि आइतबार सेयर बजार प्रभावित भएको रुपमा विश्लेषण गरिएको छ ।

शनिबार प्रदेशहरूको सम्मेलनको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो धारणा राखेका हुन् । विगतमा पुँजीको लगानी उद्योगहरूमा हुन्थ्यो । त्यहाँबाट आएको नाफा पुँजीपति वर्गले लिने गर्थे । अहिले त्यसको संरचना परिवर्तन भएर सेयर बजार र अन्य सट्टाबाजी वित्तीय उपकरणहरूमा लगानी भइरहेको उनले बताए ।

‘तपाईं हामीलाई लाग्न सक्छ, धितोपत्र बजार, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंकलगायत संघसंस्था पैसा यताउता गर्छन् । यथार्थमा त्यसो होइन । यी साम्राज्यवादका विकसित रूप हुन्,’ दाहालले भने, ‘तिनका उद्देश्य भनेकै वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, विस्तार गर्ने र नाफा एकीकृत गर्ने र संसारका सीमिति पुँजीपतिका हातमा संसारकै धन एकीकृत गर्ने हो ।’