FLASH NEWS
  • Loading...

विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको सँधै पिरलो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११५ पटक पढिएको
विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको सँधै पिरलो

जिल्लाका अधिकांश सामुदायीक विद्यालयमा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको सँधै पिरलो भैरहन्छ । खाना, वस्न र तलवमै अतिरिक्त सुविधा थप्दासमेत दुर्गमका विद्यालयले विज्ञान विषयको शिक्षक पाएका छैनन ।
आधारभुत तह कक्षा ६ देखी नै सरकारले विज्ञानलाई पनि अनिवार्य विषयको रुपमा समावेश गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको कात्तिक मसान्तसम्म तथ्याङ्क अनुसार जिल्लाका १ सय ७५ वटा आधारभुत तह (कक्षा ६–८) र १ सय १५ माध्यामिक तहमध्य जम्मा २२–२२ जना मात्र दरवन्दीका विज्ञान शिक्षक कार्यरत छन । बाँकी सवै विद्यालयले राहत तथा निजी श्रोतबाट विज्ञान शिक्षक करारमा खोजेर अध्यापन गराईरहेका छन । विज्ञान, गणित शिक्षक करार र अस्थाई दरवन्दी आउन मान्दैनन । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेशामा आएका शिक्षक पनि सहरी इलाकैमा खोसाखोस हुने भएकोले दुर्गममा पुग्नै पाईदैनन ।
‘हामीले विज्ञान शिक्षककोलागी तीन पटक सूचना निकाल्यौं तर शिक्षा शास्त्र संकाय अन्र्तगत विज्ञान विषय लिएका उम्मेदवार नै पाईएनन । केही नलागेपछि मानविकी संकायको विज्ञान विषय लिएर पास गरेको उम्मेदवारलाई नियुक्ती गर्नु पऱ्यो’ रघुगंगा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद शर्माले भने, ‘सदरमुकाम रहेकै बेनी नगरपालिकाका विद्यालयमा विज्ञान विषयका शिक्षक छैनन । दुर्गमका विद्यालयमा संधै विज्ञान शिक्षकको पिरलो भैरहन्छ ।’
पेशा प्रतिको घट्दो आर्कषणले गर्दा शिक्षक पढेका उम्मेदवार शिक्षण पेशाभन्दा निजामती सेवा तर्फ आर्कषित छ । शिक्षा सेवा आयोगबाट नियुक्ति लिई आएका अधिकांश विज्ञान शिक्षक केही महिनामै लोक सेवामा निजामति सेवा तर्फ नाम निकालेर पेशा वदल्ने गरेका छन ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका अनुसार गत वर्ष मात्र जिल्लाका ७ जना विज्ञान शिक्षकले शिक्षण पेशाबाट निजामति सेवा तर्फ गएका थिए । त्यसैगरी शिक्षा सेवा आयोगबाट मधेशीकोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउँने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक संधै अभाव हुने अर्को कारण हो ।
वेनीका सामुदायीक तथा संस्थागत बाहेक जिल्लाका सवै माध्यामिक तहका विद्यालयले बर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयको शिक्षक भाग्ने समस्या झेल्दै आएका छन । शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ ।
‘जिल्लामा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ । कक्षा ६ देखी नै विज्ञान विषय अनिवार्य गरेको छ तर सो अनुसारको जनशक्ति उत्पादन छैन । उत्पादन भएको र देशमा रहेको जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामति तर्फ आर्कषित छ’ शिक्षा विकास तथा समवन्यय इकाई प्रमुख दलबहादुर थापाले भने, ‘शिक्षण लाईसेन्स परिक्षामा विषय नमिल्दो र अब्यवहारिक हुँदा पनि शिक्षक समस्या भएको हो ।’
विज्ञान विषयको मात्र होईन, कक्षा ८ देखी कम्प्युटर विषय अध्यापन गराउने सदरमुकामका सामुदायीक तथा संस्थागत विद्यालयहरुमै योग्यता पुगेका कम्प्युटर शिक्षक छैनन । एउटा कम्प्युटर शिक्षकले विहानदेखी साँझसम्म समय मिलाएर सामुदायीक र संस्थागतगरी चार वटासम्म विद्यालयमा अध्यापन गराउने गरेका छन’ प्रकाश माध्यामिक विद्यालयका सहायक प्रध्यापक लेखबहादुर हमालले भने, ‘कम्प्युटर विषयमै शैक्षिक योग्यता प्राप्त शिक्षक पाउनै सकिन्न । अन्य विषयमा योग्यता लिएका र कम्प्युटर तालिमे शिक्षकबाट लटरपटर काम चलाउ पढाउनु पर्ने बाध्यता छ ।’
त्यसैगरी विद्यालयमा इन्जिनियरिङ र गणित विषयका शिक्षकको पनि उस्तै समस्या छ । प्राविधिक धारमा पठाई हुने बेनी नगरपालिका, ९ तोरीपानी स्थित गलेश्वर माविले विई तर्फका शिक्षक कहिल्लै पाउँदैनन । सरकारले डिजिटल शिक्षण भनेको र विद्यालयमा कम्प्युटर पढाई हुने भने पनि ति विद्यालयमा विषयगत शिक्षक अभाव हुने भएकोले कहिल्यै कम्प्युटर विषयको शैदान्तिक र प्रयोगात्मक पढाई नै हुँदैन ।

त्यसैविच विज्ञान र कम्प्युटर विषयका शिक्षकको सँधै पिरलो भैरहेपछि जिल्लाको अग्रीणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसले आगामी सत्रदेखी स्नातक तह शिक्षा शास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्ययन/अध्यापन सुरु गर्ने भएको छ ।
जिल्लाका सामुदायीक तथा संस्थागत विद्यालयले विज्ञान, गणीत र कम्प्युटर विषय अध्यापन जनशक्ति उत्पादन गर्न म्याग्दी क्याम्पसले त्रिभुवन विश्व विद्यालय अन्र्तगत स्नातक तहमा शिक्षा शास्त्र तर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषयको अध्ययन/अध्यापन सुरु गर्न अग्रसरता लिएको हो । जिल्लामै स्नातक तहमा विज्ञान र कम्प्युटर विषय अध्यापन सुरु गर्न जिल्लाका सवै स्थानीय तहले आर्थिक श्रोत जुटाउन सामुदायीक एक्यवद्धता पनि जनाएका छन ।
‘म्याग्दीमा मात्र होईन, बाग्लुङ पर्वतमा पनि विज्ञान विषयमा स्नातक तहको अध्यापन हुँदैन । जिल्लाका विद्यालयमा विज्ञान विषयका शिक्षकको अति धेरै माग भएपनि उत्पादन शुन्य रहेकोले म्याग्दी क्याम्पसले स्थानीय विद्यालयको माग सम्बोधन गर्न शिक्षा शास्त्र संकाय अन्र्तगत विज्ञान र कम्प्युटर तथा सूचना प्रविधी विषय अध्यापन सुरु गर्ने तयारीमा छ’ म्याग्दी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वालकृष्ण सुवेदीले भने, ‘क्यूएए प्राप्त म्याग्दी क्याम्पसमा विज्ञान र क्म्प्युटर तथा सूचना प्रविधी विषय संञ्चालन गर्न त्रिवि पनि पोजेटिभ छ । स्थानीय तहबाट पनि आर्थिक श्रोत ब्यवस्थापनमा प्रतिवद्धता प्राप्त गरेका छौं ।’