FLASH NEWS
  • Loading...

वेमौषमी पानीले पाक्न लागेको धान ढालेर नष्ट

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४७ पटक पढिएको
वेमौषमी पानीले पाक्न लागेको धान ढालेर नष्ट

आईतवारदेखी परेको अविरल वेमौषमी वर्षासँगै चलेको हावाहुरीले पाक्नै लागेको धानवालीमा क्षति पुर्‍याएको छ ।
हावाहुरीसहितको पानीले पाक्न लागेको धानवाली ढलाएपछि गहमा जमेको पानीमा डुवेको छ । कतै कतै भने काटेर ढलाएको धानमा लगातारको झरीले डुब्दा धानको फल झर्ने र मक्किने भएको छ ।
चाँडो पाक्ने उन्नत जातका धान काटेर ढलाएकोलाई भिजाएको र ढिला पाक्ने जातका धानको गेडा छिप्पिनेबेला पानीमा गाडिएकोले क्षति पुगेको हो । कृषी ज्ञान केन्द्रका अनुसार मंगलवार विहानसम्मको विवरणमा ढिला पाक्ने जेठोबुढो, गौरिया, मार्सी लगाएतका रैथाने जातका धान वालीमा १५–२५ प्रतिशतसम्म क्षति पुगेको छ ।


‘मंगलवार विहानसम्म जिल्लाभरबाट संकलित विवरणमा करिव १५–२५ प्रतिशतसम्म धान वालीमा क्षति पुगेको अनुमान गरेका छौं’ कृषी ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले भने, ‘स्थानीय जातका ढिलो पाक्ने जातका धानवालीमा बढी क्षति पुगेको पाईएको छ ।’
सदरमुकाम सेरोफेरो तथा मध्य क्षेत्रका बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुर, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती तथा उपल्लो भेगमा माछापुच्छ्रे–३ र छोम्रोङ्ग धान खेती गरिन्छ । कालीगण्डकी कोरीडोरको सवै भन्दा माथिल्लो क्षेत्रमा धान खेती गरिने वस्ती घार हो । यहाँ दुई हजार दुई सय मिटरसम्म धान खेती गरिन्छ ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतबाट १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । तस्वीर साैजन्य ः भरत खत्री, प्रअ भानुमावि,रत्नेचाैर