FLASH NEWS
  • Loading...

बढेको तलव माग्दै बेनी नगरपालिकाका बालविकास सहयोगीहरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८८ पटक पढिएको
बढेको तलव माग्दै बेनी नगरपालिकाका बालविकास सहयोगीहरु

कोरोना संक्रमणको त्रासले वन्द विद्यालय खुलेसँगै बेनी नगरपालिका भित्रका विद्यालयमा संञ्चालित प्रारम्भिक बालविकास केन्द्रका सहयोगी र विद्यालयका कर्मचारी (कार्यालय सहयोगी)हरु न्यूनतम मासिक तलव १५ हजार माग गर्दै आन्दोलन थालेका छन ।
ओली सरकारले प्रारम्भिक बालविकास केन्द्रका सहयोगी र विद्यालय सहयोगीले खाईपाई आएका मासिक ६ हजार तलव बृद्धी गरी १५ हजार पुऱ्याएको थियो । तर उक्त तलव कार्यान्वयन नभएको भन्दै बेनी नगरपालिका भित्रका वालविकास सहयोगी, विद्यालयका लेखापाल र कार्यालय सहयोगीले बढेको तलव पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन ।
‘स्थानीय तहले पनि बढेको पारिश्रमिक दिन अस्वीकार/आनाकानी गरेकोले ओली सरकारले बृद्धी गरेको न्यूनतम तलवलाई कार्यान्वयन गराउन आन्दोलनमा आएका हौं’ बालविकास सहयोगी विर्सना चोखालले भनिन, ‘हामी निम्न तहका कर्मचारीमाथीको राजनिती बन्द गर्नु पर्छ । कोरोनाको जोखिममा तलव पनि नपाउने अवस्थाले निरास बनाएको छ ।’
सोमबार बेनी नगरपालिका भित्रका ५१ जना बालविकास सहयोगी, ५६ जना कार्यालय सहयोगी र माध्यामिक तहको विद्यालयमा कार्यरत १५ जना लेखापालले न्यूनतम तलव १५ हजार कायम यही त्रैमासिकमा पाउने ब्यवस्था गर्न बेनी नगरपालिका नगरप्रमुख हरीकुमार श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएका छन ।
वाल विकास सहयोगी तथा विद्यालयका कर्मचारीको बढेको तलव भुक्तानी गर्ने कुनै कार्यक्रम र निर्देशिका प्राप्त नभएको र पुरक बजेटमा पनि यो विषयमा सम्बोधन नभएकोले प्रष्ट निर्देशिका नआउँदासम्म नियमित तलव मात्र भुक्तानी गर्ने बेनी नगरपालिकाले जनाएको छ ।
‘वाल विकास सहयोगी तथा विद्यालयका कर्मचारीको बढेको तलव भुक्तानी सम्बन्धी कार्यक्रम र निर्देशिका नआएकोले कसरी कुन शिर्षकबाट बढेको तलव खुवाउने भन्ने अन्यौल भएको हो’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘बजेटको शिर्षकमै रकम नभएपनि विद्यालयका कर्मचारीको बढेको तलव खुवाउने बजेट रिजर्भमा राखेका छौं । कार्यक्रम नआउँदा सम्म यो त्रैमासिक नियमित नै भुक्तानी हुन्छ । कार्यक्रम आएपछि बढेको तलव पठाउँछौं ।’
ततकालिन अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तब्य मार्फत संघिय सरकारले ८ हजार र बाँकी स्थानीय तहले ७ हजार ब्यहोर्ने गरी सवै विद्यालयका सवै कर्मचारीको तलव न्युनतम १५ हजारमा हुने गरी बृद्धी गरेका थिए ।
बेनी नगरपालिका शिक्षा शाखाका अनुसार नगरक्षेत्रका ५१ जना बालविकास सहयोगी, ५६ जना कार्यालय सहयोगी र माध्यामिक तहको विद्यालयमा कार्यरत १५ जना लेखापालको ७ हजार तलव बृद्धी गर्दा मासिक ८ लाख ५४ हजार र वार्षिक १ करोड ११ लाख २५ हजारबढी दायीत्वभार थपिने जनाएको छ ।
‘नगरपालिकाको आन्तरिक श्रोत छैन, संघ र प्रदेशबाट प्राप्त बजेट सिलिङ्गमा विद्यालयका कर्मचारीको बढेको तलव खुवाउने बजेट शिर्षक नै छैन’ प्रशासकीय अधिकृत सुवेदीले भने, ‘स्थानीय सरकारको श्रोत सुनिश्चित नगरी संघिय सरकारले उदारोमा जिम्मेवारी पन्छ्याउँदा स्थानीय तह मर्कामा परेका हुन ।’