FLASH NEWS
  • Loading...

गाउँ-शहरका विद्यार्थी देखि गृहणीसम्म आईपीओकाे चर्चा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०५ पटक पढिएको
गाउँ-शहरका विद्यार्थी देखि गृहणीसम्म आईपीओकाे चर्चा

सामाजिक संजाल होस् वा चुलोचौका, गाउँ होस् वा सहर यतिबेला प्राथमिक सेयर (आईपीओ) को चर्चा चुलिएको छ । विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा एक हजार रुपैयाँ भन्दा माथि लगानी गर्न सकिन्छ । कोरोना महामारीमा व्यापार व्यवसाय ठप्प हुँदा यसतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । कतिपयले यसबाटै रोजीरोटी पनि चलाएका छन् ।

विद्यार्थीदेखि गृहणीको हात–हातमा स्मार्टफोन हुनु र थोरै लगानीमा समेत अनलाइनबाटै सहज कारोबार गर्न सकिने भएकाले यसतर्फको आकर्षण बढेको सेयर बजार आधारभूत तथा प्राविधिक विश्लेषक एनबी थापा बताउँछन् । ‘आइपीओमा एक हजार लगानी गर्दा पाँच हजारदेखि पचास हजारसम्म फाइदा गर्न सकिने भएकाले यसतर्फको आकर्षण बढेको हो,’ थापाले भने ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्याङ् अनुसार हालसम्म ४२ लाख ६८ हजार ३ सय ५२ जनाले डिम्याट खाता खोलेका छन् ।

जसले गर्दा अहिले एउटै कम्पनीको आइपीओमा ४२ लाखभन्दा बढी आवेदन पर्न थालेको छ । सेयरको अनलाइन कारोबारका लागि ‘मेरो सेयर’ मार्फत ‘युजर्स आइडी’ बनाउनु पर्ने हुन्छ । सोही मार्फत कारोबार गर्न सकिन्छ ।

हालसम्म ३३ लाख ६१ हजार १ सय ७१ ‘मेरो सेयर’ प्रयोगकर्ता रहेको लिमिटेडले जनाएको छ । डिम्याट खाता खोलेकाहरु मध्ये अझैपनि करिब ९ लाखले मेरो सेयर प्रयोग गरेका छैनन् । आफ्नो खाता रहेको बैंकबाट डिम्याट खाता प्रयोग गरी सहजै आइपीओ भर्न सकिन्छ ।

‘सी–आस्वा’ सेवा दिने बैंकहरु ४१ वटा छन्’ बोर्डका सह–प्रवक्ता रुपेश केसीले भने, ‘सी–आस्वा सेवा कतिपय बैंकले निःशुल्क सुविधा दिएका छन् भने सेवा दिएवापत बैंकले एक रुपैयाँदेखि एक सय रुपैयाँसम्म शुल्क लिन पाउने नियम छ ।’ कतिपयले भने निःशुल्कै यो सेवा दिइरहेका छन् । यसलाई ‘सी–आस्वा’ सेवा भनिन्छ । ग्राहकलाई यो सेवा प्रदान गर्न बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।