FLASH NEWS
  • Loading...

सुलीबाट बिजुली !

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४६ पटक पढिएको
सुलीबाट बिजुली !

कुखुराको सुलीबाट विजुली वलिरहेको सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका एक किसानले कुखुराको सुलीबाट विजुरी उत्पादन गरी वालिरहेका छन ।

व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गरेका छन् । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिएको छ । उनका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत उत्पादन भएको छ । उनले कुखुराको सुलीबाट विधुत उत्पादन गरी ६२ केभिए क्षमताको जेनेरेटर चार्ज गरी आफ्नै कुखुराको खोरमा विजुली बाल्दै आएका छन ।

खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रा.लिमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यकपर्ने विद्युत् यहीबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार सुरुमा रु १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो ।

यसको प्रभावकारिता राम्रो देखिएपछि रु एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत रु ५२ लाख अनुदानसमेत दिएको उनको भनाइ छ ।

सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उनी यसप्रति आकर्षित भएका हुन् । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उनको छ ।

उनका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यकपर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि करिव रु १२ करोड खर्च हुनेछ । सोमध्ये रु चार करोड विश्वबैंकले अनुदान दिने उनले बताए । यसबाट २५० केभिएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उनको भनाइ छ ।

अहिले खोरमा एक लाख कुखुरा छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्राउने अर्याल सरकारी जागिर छाडेर यो पेशामा लागेका हुन् ।

विसं २००८ असार ११ गते काठमाडौँको ज्याठामा जन्मिएका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बुबा अदालतमा जागिर गर्ने हुँदा उनले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गरेका हुन् ।