FLASH NEWS
  • Loading...

जैविक तरकारीको डौंडेबाट मनग्य आम्दानी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३४ पटक पढिएको
जैविक तरकारीको डौंडेबाट मनग्य आम्दानी

अहिले सहरका प्राय: सवै तरकारी पसलमा अधिक माग र महंगो मुल्यमा विक्रि भैरहेको अर्गानिक तरकारी हो, डौंडे । खेतवारीका कान्ला र खोल्सामा आफै उम्रने उन्यु प्रजातिको डौंडे (एक प्रकारको निउरो) जैविक र मौषमी तरकारी हो ।
पछिल्लो एक सातादेखी पानी परेको छैन । पानी रोकिएपछि पहिरो खसेको छैन, सडक केही ओभाएका छन । सडकमा खसेका सानातिना पहिरो आफैले पन्छ्याएर ब्यवसायीले ट्याक्टर र जीप गुडाउन थालेसँगै गाउँका तरकारी सहर झर्न थालेको हो ।
१ हजार ४ सय मिटरदेखी २ हजार मिटर सम्मको उचाईको क्षेत्रका पानी भएको ठाउँमा डौंडे उम्रन्छ । तर बेनी, बाग्लुङ र पोखराको तरकारी बजारमा दोवा, हिदी, भर्जुला, कुहुं, झिं, पाखापानी, बेग, दग्नाम, दर्मिजा क्षेत्रबाट डौंडे तरकारी बजारमा आउने गरेका छ ।
‘गाउँको खेतवारीका कान्ला र खोल्साहरुमा प्रशस्त पाईने डौंडेलाई गाउँलेहरुले गै टिपेर ल्याउँछन । हामीले कृषकबाट किनेको मुल्यमा ढुवानी खर्चबाहेक केजीमा ५ रुपैयाँ जोडेर ब्यापारीलाई दिन्छौं तर ब्यापारीले उपभोक्तालाई बढी मुल्य लिन्छन’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका स्थानिय संकलक जनक पुनले भने, ‘कृषकले पनि विना लगानीको जंगली तरकारीमा राम्रो पैसा फलेको छ ।’


मध्य असारदेखीमध्य असोजसम्म खेतवारीका कान्ला र खोल्सा, तथा झाडीमा आफै उम्रने डौंडे वेचेर यहाँका धेरै कृषकले मनग्य आम्दानी गर्छन । आफै उम्रने र जस्ले जति सक्यो उत्ति टिप्न पाईने डौंडेको बजार मुल्य भने अचाक्लि महंगो छ ।
‘आफै उम्रने र विना लगानीको डौंडेको ब्यापारमा राम्रो मुल्य छ । कृषकले नै सदरदर केजीमा ५० रुपैयाँ मुल्य दैलोमा पाएका छन । मुल्य महंगो भएपनि अर्गानिक उत्पादन तथा मिठो स्वादले गर्दा उपभोक्ताको रोजाईको तरकारी हो’ बेनी नगरपालिका, ८ पिपलचोक स्थित तरकारीका थोक विक्रेता देवेन्द्र सुवेदीले भने, ‘यो वर्ष छिटो बर्षाले बाटो विग्रिए । साउन लागेपछि वल्न बजार आउन थालेको छ । भदौसम्मै डौडेको ब्यापार राम्रो हुन्छ ।’
पहाडी क्षेत्रमा मुना टिपेर तरकारी/अचारको रुपमा प्रयोग गरिने उन्यू प्रजातिको निउरोलाई उम्रने सयम, उचाई, रंग र आकारले लुते, माछे, काली निउरो र डौंडे गरी चार प्रकारका हुन्छन । लुते निउरो चैत–वैशाखको सुख्खा बारीको कान्लामा उम्रन्छ । यो निउरो चिल्लो र झुस हुँदैन । वैशाख अन्तिमदेखी जेठसम्म ओसिलो वनजंगलमा पाईने माछे निउरो हो । यो निउरोको मुनाको माथील्लो वेरिएरको भागको दुवैपट्टी कालो भुत्ला टाँसिएको हुन्छ । अचारको रुपमा बढी प्रयोग गरिने माछे निउरो पनि सिजनमा निक्कै विक्रि हुन्छ ।
‘सवैले खेत र खोल्सामा आफै उम्रेको डौंडेको मुल्य महंगो भयो भन्छन । वास्तवमा जुका लाग्ने झाडीमा पसेर सर्प समेत किराले टोक्ने डर मान्दै टिप्यो । फेरै एउटै झाडीबाट भारीका भारी टिप्ने पनि पाईन्न, खोज्दै दिनभरीमा १२–१५ किलो संकलन गऱ्यो, त्यैपनि महंगो भन्छन’ कृषक गौमति पाईजाले भनिन, ‘वास्तवमा डौंडे/निउरोको अर्गानिक स्वाद चिन्नेकालागी कृषकले वेच्ने मुल्य धेरै सस्ता हो । तर विचौलिया नभै उपभोक्ताको भान्सामा नपुग्ने रहेछ ।’


निउरो तथा डौंडे खानुको फाईदा धेरै छन । पूर्ण जैविक तथा अर्गानिक तरकारी भएकोले विषादी रहित छ । पोषण विदहरुका अनुसार कोलेस्टोर एवं वोसोजन्य पदार्थ नहुने निउरोमा प्रोटिन, कयाल्सियम, भिटामिन ए लगाएत पोषक तत्व पाईन्छ । यो वालबालिका र गर्भवती महिलाकालागी अझ लाभदायक मानिन्छ ।
नेपाली भान्सामा अर्गानिक तरकारी/अचारको रुपमा स्वादमा कहलिएको डौंडे/निउरो टिप्न भने सजिलो हुँदैन । बर्खायामको झरीवालदमा जुकाको टोकाई सहेर खोल्साखाल्सीको झाडिमा पुग्नु पर्छ । सर्पले टोक्न सक्ने र अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ ।
निउरो स्वादिलो वनस्पती भएपनि पकाउन भने सीप चाहिन्छ । पकाउने तरिका नमिल्दा यो टर्रो स्वादको वन्छ । निउरोको तरकारी वा अचार जे पकाउँदा पनि अमिलो भने चाहिन्छ ।