FLASH NEWS
  • Loading...

साउने सोमबार

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८५ पटक पढिएको
साउने सोमबार

ग्रीष्म ऋतुको अन्त्यसँगै वर्षाको आगमन हुन्छ । मनसुनको बेला भएकाले आकाश खुलेको छैन । बेलाबेलामा पानी दर्कन्छ । सिमसिम झरीले छाडेको छैन । जताततै हिलो र चिप्लो मात्र । किसानहरु खेतीपातीमा व्यस्त छन् । यताउता जताततै प्राकृतिक हरियाली छ, यो हो साउन महिना ।

हरिया र पहेँला चुरा, पोते र मेहन्दीले सजिएर हातमा घडा लिएका महिला देखेपछि साउने सोमबार हो भनेर जो कोहीले अड्कल काट्छन् ।

हिन्दू धर्ममा साउने सोमबारको विशेष महत्व छ । शिवमन्दिरमा भक्तजनको घुइँचो लाग्छ, पूजा गरिन्छ । यसपालि कोरोना महामारी संक्रमण बढिरहेकाले शिव मन्दिरहरु बन्द छन् । त्यहाँ दैनिक पूजा–आराधानमात्रै चल्दै छ ।

साउने सोमबार बिबाहित महिला आफ्नो श्रीमानको सुस्वास्थ्य, दीर्घायु र अबिबाहितले असल एवं सुयोग्य वरको कामना गर्दै व्रत बस्छन् । भगवान शिवलाई मन पर्ने साउने सोमबार व्रत बसेर जल चढाए मनोकांक्षा पूरा हुने विश्वास छ । भगवान शिवको पूजा गर्दा दूध, बेलपत्र, धतुरो, फलफूल आदि पनि चढाइने गरिन्छ ।

साउनको प्रत्येक दिनलाई पवित्र दिन मानिन्छ । यस महिनामा कुभिण्डो, मूला, मह, गुँद, लसुन, प्याज, माछा, मासु खान बर्जित गरिएको छ । कपाल र नङ नकाट्ने, रती क्रिया नगर्ने चलन पनि छ ।

पार्वतीले साउन महिनामा व्रत बसेर आफ्नो योग्य पति पाएको हुनाले योे व्रत बस्न थालिएको पौराणिक कथा छ । यस महिना प्रकृति स्वरुपा पार्वतीले हरियो रुपधारणा गर्ने भएकाले पुरुष रुपी भगवान शिवलाई प्रसन्न बनाउन महिलाले हरियो चुरा, पोते र बस्त्र लगाउने चलन चलेको भनाइ पनि छ ।

साउनकोे प्राकृतिक हरियालीलाई पार्वतीको रंग भनिन्छ । महिलाहरुले हरियो चुरा, पोते र बस्त्र लगाएर प्रकृतिसँग नजिक भएको देखाउन खोजेका हुन् । यसबाट जीवनमा हरियाली छाउने विश्वास गरिन्छ । यसबेलामा बोटबिरुवामा हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारणा गर्दा सुन्दरता थपिन्छ नै । यसबेला चुरा चुकाउन र फुटाउन नहुने भन्दै निकै होसियार रहने गरिन्छ । रंगहरुमा हरियोलाई प्रेम, रातोलाई सौभाग्य र पहेँलोलाई पवित्रताको प्रतीक मानिन्छ ।

प्राचीनकालदेखि नेपाली हिन्दू नारीले विशेष गरेर साउनलाई हर्षोल्लास अनि भक्तिभावको महिनाका रुपमा लिने गर्दै आएका छन् । हरियो रंगलाई समृद्विको प्रतीक पनि मानिन्छ । त्यसैले हिन्दू महिला घरपरिवारको समृद्विको कामना गर्दै हरियो बस्त्र लगाउने गर्छन् । साउने सोमबार तीर्थयात्री सुस्वास्थ्य, खुसी र समृद्विका लागि खाली खुट्टा जल चढाउन शिवालयमा जाने गर्छन् ।