FLASH NEWS
  • Loading...

अब धौलागिरि अस्पतालमै पीसीआर परीक्षण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४४ पटक पढिएको
अब धौलागिरि अस्पतालमै पीसीआर परीक्षण

सरकारले निर्णय गरेको १० महिनापछि बागलुङको धौलागिरि अस्पतालमा पीसीआर मेसिन जडान भएको छ ।

नेपाल सरकारले गत असार १२ मा गरेको निर्णयपछि यहाँ पीसीआर मेसिन जोड्ने तयारी थियो । बजेट निकासामा भएको ढिलाइले लामो समयदेखि रोकिएको काम अहिले सम्पन्न भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए ।

पीसीआर मेसिनका लागि संघीय सरकारले १ करोड र प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेका थिए । मेसिन ल्याएर अस्पतालमा जडान भइसके पनि स्वाब परीक्षण भने भएको छैन ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति कुरेर बसेका छौं, अनुमति पाउनासाथ काम थाल्नेछौं,’ अस्पतालका मेडिकल ल्याबरोटरी टेक्नोलोजिस्ट डा.नारायणप्रसाद कोइरालाले भने, ‘जनशक्ति व्यवस्थापन र छुट्टै ल्याबसमेत बनाइसकिएको छ ।’ अस्पतालको भूमिगत तल्लामा मेसिन जडान गरेर ल्याबसमेत बनाइएको हो ।

यो मेसिन जडानलगायतको काममा ५० लाख रुपैयाँ बढी खर्च भएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । अस्पतालले एक जना विशेषज्ञ डाक्टरसहित ल्याबका लागि दुई समय छुट्ट्याएर काम गर्ने गरी व्यवस्थापन गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि मात्रै स्वाब परीक्षण गर्ने अनुमति पाइने कानुनी व्यवस्था छ ।

जडान भएको मेसिनले एक पटकमा ७० जनाको स्वाब परीक्षण गर्न सक्ने कोइरालाले जानकारी दिए । यसअघि बागलुङबाट संकलन गरिने स्वाब पोखरा पठाउने गरिएको थियो । पोखरा पठाउँदा पीसीआर रिपोर्ट आउन ३ दिन लाग्छ । संक्रमणको चाप बढेको बेला ७ दिनसम्म लाग्ने गर्दा स्वाब दिएका व्यक्ति होम क्वारेन्टाइनमा नबस्दा संक्रमण फैलिएको टिप्पणीसमेत हुने गरेको थियो । कोइरालाका अनुसार मेसिन जडान भएपछि बढीमा २४ घण्टामा यहाँ ल्याएको स्वाबको रिपोर्ट निस्कनेछ ।