FLASH NEWS
  • Loading...

अन्नपूर्ण हिमाल आरोहणमा नेपाली महिला किर्तिमान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३२० पटक पढिएको
अन्नपूर्ण हिमाल आरोहणमा नेपाली महिला किर्तिमान

यस वर्षको पहिलो वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत शुक्रबार कम्तीमा ६ नेपाली महिलासहित ६८ जनाले विश्वको दसौं अग्लो अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरेका छन् । ८ हजार ९१ मिटर उचाइको यो चुचुरोमा मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिलाको टोलीले पनि आरोहण गरेका छन् ।

आरोहणको हिसावले सवैभन्दा कठिन, अधिक हिमपहिरो गैरहने र किलर माउण्टेनको रुपमा चिनिएको रे हालसम्म कुनै पनि महिलाले आरोहण नगरेको अन्नपूर्ण प्रथम हिमालको यस सिजनमा श्रेष्ठ समेत चार जना नेपाली महिलाले किर्तिमान कायम गरेका हुन ।

यो सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागले ४ वटा आरोहण दलका लागि ८ महिलासहित ४४ जना विदेशीलाई मात्रै आरोहण अनुमति दिएको थियो । विभागकी निर्देशक मीरा आचार्यका अनुसार विदेशी आरोहीहरूको सहयोगीका रूपमा गएका कम्तीमा ६ नेपाली महिलाहरू पनि शुक्रबारै अन्नपूर्ण चढेका छन् । जसमा गोरखा घर भएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, ओखलढुंगाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा, दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ र सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा छन् । यी सबै आरोही हुन् ।

उनीहरू यस सिजनमा अन्नपूर्ण हिमाल आरोहण दलमा सदस्यका रूपमा नभई पथप्रदर्शक र उचाइका कामदारको भूमिकामा गएको निर्देशक आचार्यले बताइन् । आरोहण कम्पनीहरूले शुक्रबार बेलुकीसम्म नेपाली तथा विदेशी गरी ६८ जनाले अन्नपूर्ण आरोहण गरेका छन् । तर विभागले बेलुकी ७ बजेसम्म २५ जनाले आरोहण गरेको जानकारीमात्रै प्राप्त भएको जनाएको छ ।

त्यसैगरी भारतीय पर्वतारोही प्रियंका मंगेश मोहितीले शुक्रबारै अन्नपूर्ण आरोहण गरेकी छन् । उनलाई अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो भारतीय महिला भनिएको छ ।
‘संसारको जेठो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा आजसम्म महिलाका पाईला पुगेका छैनन । म यस हिमालका प्रथम आरोहीले हिंडेको पदमार्ग पछ्याउँदै चुचुरोमा पुग्न चाहन्छु’ अन्नपूर्ण हिमाल आरोहणमा निक्लेकी महिला आरोही श्रेष्ठले भनेकी थिईन, ‘अन्नपूर्ण कठिन र किलर माउण्टेनको रुपमा बदनाम छ । अन्नपूर्ण हिमाल आरोहणमा ३८ प्रतिशत डेथरेट छ, म त्यो चुनौती सामाना गर्न आतुर छु ।’

अन्नपूर्ण प्रथम हिमालको आरोहणमा निक्लेकी आरोही पूर्णिमाको अभियानलाई अन्नपूर्ण गाउँपालिकाबाट ४ लाख, गापा अध्यक्ष डमबहादुर पुनबाट दुई लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।
अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमाल पुग्ने पदमार्गको गाउँपालिकाले पहिचान, निर्माण, नक्साङ्कन तथा प्रर्वद्धन गरेको हो । अन्नपूर्ण गाउँपालिकाले प्रर्वद्धन गरेको यस पदमार्ग अन्नपूर्ण हिमालको पहिलो आरोहीको सम्मानमा ‘मौरिस हर्गाज अन्नपूर्ण नर्थ पदमार्ग’ नामाकरण गरिएको छ ।
मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।
‘अन्नपूर्ण हिमालको चुचुरोमा महिला पाईला त्यो पनि हाम्रै चेलीले राखेको सुन्दा हामी खुशी छौं । श्रेष्ठसमेत आरोहीलाई स्वागत गर्न बाटो पर्खेर वसेका छौं’ अन्नपूर्ण गाउँपालका अध्यक्ष डमबहादुर गर्वुजाले बताए । अध्यक्ष गर्वुजाले थपे, ‘हाम्रो अगुवाईमा पर्वतारोहीको नाममा नामाकरण भएपनि पदमार्ग बनाउन पर्यटन मन्त्रालय, एक्याप, ट्रेकिङ एजेन्सी, स्थानीय समुदाय र गाउँपालिका सवैको आर्थिक, भौतिक सहयोग छ । आगामी तीन वर्षमा यो रुटलाई टिहाउस ट्रेकको रुपमा विकास गर्ने लक्ष्य छ ।’
अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङ्गको घाँसाहुँदै जाने प्रचलित नर्थ वेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त, ६ छोटो अझ हिमाल फेदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ वेंशी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तीम वस्ती हो । अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न नारच्याङबाट दुई वटा विकल्प छन, पैदल वा गाडी ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।
पैदल यात्रा गर्ने हो भने, नारच्याङवेंशीबाट पहिलो दिन लेकगाउँहुँदै कालोखोला, दोस्रो दिन छोटेपा, तेस्रो दिन हुमखोला, चौंथो दिन साँधीखर्क, पाचौं दिन भुस्केटमेला र छैठौं दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प र सातौं दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको विकल्पमा संञ्चालनमा ल्याईएको नारच्याङ–घाँसा–जोमसोम–मुक्तिनाथ बैकल्पिक पदमार्ग, तातोपानी–खोप्रा–महरे–नागी सामुदायीक पदमार्ग र अन्नपूर्ण नर्थ वेस क्याम्प पदमार्गको प्रस्थान विन्दु नारच्याङ्ग हो ।
‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण तथा ब्यवस्थापन सुरु गरेका छौं’ पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘विभिन्न चोक र गल्लीमा पदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । लुकेको वस्तीका पदमार्ग पर्यटककालागी ‘भर्जिन गन्तब्य’ पनि हुन ।’