FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओलीले एमालेको बैठक बोलाउने, माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याए विश्वासको मत लिने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७२ पटक पढिएको
प्रधानमन्त्री ओलीले एमालेको बैठक बोलाउने, माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याए विश्वासको मत लिने

|Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015 Photo; Keshab Thoker/Nagarik/republica

प्रधानमन्त्री केपी ओलीले साविक नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक बोलाउने तथा यदी माओवादी केन्द्रले संसदमा अविश्वासको प्रस्ताव ल्याए एक महिना भित्र विश्वासको मत लिने बताएका छन ।

‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन् ।

त्यो विशेष निर्णय भनेको राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनबाट जितेका प्रतिनिधिहरुलाई जोगाउनेबारे नयाँ विधेयक ल्याउनुपर्ने हुनसक्ने ओलीको भनाइ थियो । नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको पनि प्रधानमन्त्रीले बताए ।

‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । म त्यो एक महिनाभित्र लिन्छु’, ओलीले भने । आइतबार बसेको बैठकलाई भने एमाले दलको बैठक भनिएको थिएन ।

पार्टी प्रक्रियाकै क्रममा अदालतको फैसला आएकाले सबै सांसदहरुलाई बोलाइएको थियो । अब भने माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै बैठक बस्ने जानकारी ओलीले दिए ।