FLASH NEWS
  • Loading...

अन्नपूर्ण–धौलागिरी पदमार्ग सुधार गर्न ८ करोड

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४५ पटक पढिएको
अन्नपूर्ण–धौलागिरी पदमार्ग सुधार गर्न ८ करोड

म्याग्दीका प्रमुख दुई हिमाल धौलागिरी फन्को मार्ने र अन्नपूर्ण नर्थ वेस क्याम्प (मौरिस हार्जोग) पदमार्गमा पूर्वाधार निर्माण गर्न ८ करोड बजेट विनियोजन भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हालै (मंसिर २४ गते) टेण्डरको सूचना प्रकाशित गरी धौलागिरी राउण्ड अन्र्तगत धौलागिरी गाउँपालिकाको खाम्लादेखी बगरा–जेल्टुङ–दोभान–इटली क्याम्पहुँदै धौलागिरी मुस्ताङ्को टुक्चे निक्लने पदमार्ग सुधार तथा सहज बनाउन ५ करोड लागतमा ठेक्का प्रकृया सुरु भएको छ ।
त्यसैगरी अन्नपूर्ण नर्थ वेसक्याम्प पुग्ने पदमार्ग बनाउ तीन करोड लागतमा गत वर्षदेखी ठेक्का लगाई काम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङदेखी निलगिरी खोला पछ्याउँदै छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी), भुस्केटमेला (३६५९मी), अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प र अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्ने पदमार्ग सुधार, झोलुङ्गे पुल तथा आश्रयस्थलहरु निर्माण गरिने कार्यक्रम छ ।
‘जिल्लाको पश्चिमी भेगको पर्यटनको आधार मानिएको राउण्ड धौलागिरी र उत्तरी भेगको अति संभावनायुक्त अन्नपूर्ण नर्थ वेस क्याम्प (मौरिस हार्जोग) पदमार्गमा पूर्वाधार निर्माण गर्न ८ करोड बजेट ब्यवस्था गरेको छु । पर्यटन क्षेत्रमा यो निक्कै ठुलो उपलब्धी हो’ विघटित प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाले भने, ‘नागी–महरे–खोप्रा पदमार्ग र रुईसे–धौलागिरी आईसफल पुग्ने पदमार्ग, अन्य दर्जन पर्यटकीय गन्तब्य पहिचान तथा प्रर्वद्धनको जग राखिएको छ ।’


धौलागिरी हिमश्रृखलाका ५ हिमाल, सीता चुचुरो र राउण्ड धौलागिरी गर्न जाने पर्यटककालागी धौलागिरी पदमार्गमा आवास, वाटोको समस्या छ । खाम्ला, नाउरा, बगरादेखी दोभान, सल्लाघारीहुँदै इटली क्याम्पसम्म तीन दिनको निगालाको झाडी र विभिन्न खोलाहरुमा झोलुङे फुल, विसौनी र बाटो चौडा र सिंढी राख्नु पर्ने छ । इटली क्याम्पदेखी स्वस र जापानिज क्याम्प पुग्न म्याग्दी खोलामा झोलुङे पुल तथा क्याण्डी व्रिज आवश्यक देखिएको छ ।
धौलागिरी पदमार्गमा गत वर्ष पनि गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ५० लाख लागतमा नाउरादेखी सल्लाघारीसम्म विभिन्न खण्डका गरी ९ किलोमिटर ५० मिटर साँघुरा, अप्ठ्यारा बाटो मर्मत गरिएको छ । सल्लाघारीदेखी इटली क्याम्पसम्मको एक दिनको पदमार्गको झाडी भने धौलागिरी गाउँपालिका, ४ मुदीको बगराबासीले श्रमदानगरी फाँडेर घोडेटो बाटो निर्माण गरेका हुन ।
त्यसैगरी संघिय पर्यटन मन्त्रालयबाट विनियोजित १५ लाख रुपैयाँ खर्चेर इटलीक्याम्पबाट जापानिज क्याम्प जोड्ने नयाँ पदमार्ग निर्माण गरिएको छ । इटलीक्याम्पबाट स्वीस क्याम्पहुँदै जापानिज क्याम्प जोड्ने पुरानो बाटो हिमपहिरोले बगाएपछि करिव २ सय मिटर भीर खोपेर नयाँबाटो खोलिएको निर्माणमा खटिएका धौलागिरी गाउँपालिकाका प्राविधिक दिपेन्द्र थापाले बताए ।
‘इटली, स्वीस र जापानिज क्याप भनिएपनि ग्लेसियर होईन्न तर म्याग्दी खोला किनारमा धौलागिरी चौंथो, पाँचौ र पहिलो हिमालको खोंचमा अवस्थित भएकोले बारम्बार ठूला हिमपहिरो झरिरहन्छन । पहिरोले पदमार्गमा क्षति पुग्ने गर्छ’ प्राविधिक थापाले भने, ‘इटली क्याम्प छेउमा बाह्ै महिना सानो ठूलो हिमपहिरो झरिरहने भएकोले ५० मिटर बाटो भने एक सिजनबाट अर्को सिजनमा टुङ्गो हुँदैन ।’
आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहणको हिसावले सबभन्दा कान्छो तथा हिममानव (यती) पाईने हिमालको रुपमा ख्याती कमाएको धौलागिरीमा न्यून पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ ।


सन् १८०८ मा भारतमा रहेको वेलायती सर्भे टिमले आठ हजार एक सय ४७ मिटर अग्लो धौलागिरी हिमाल पत्ता लगाएको हो । संसारकै अग्लो गल्छीको रुपमा प्रसिद्धी पाएको कालिगण्डकी गल्छी अर्थात अन्ध गल्छी यही धौलागिरी हिमाल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आम्नेसाम्ने भएर बनेको हो ।
त्यसैगरी फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगले सन् १९५० जुन ३ गते ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न गर्न जाँदा प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग पदमार्ग’ नामाकरण गरी भ्रमण वर्ष २०२० मा धेरै पर्यटकलाई ल्याउने योजना बनाएको थियो ।
अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।