FLASH NEWS
  • Loading...

करिब ४ सय वर्षपछि बृहस्पति र शनि ग्रह एकआपासमा धेरै नजिक देखिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९२ पटक पढिएको
करिब ४ सय वर्षपछि बृहस्पति र शनि ग्रह एकआपासमा धेरै नजिक देखिए

सन् १६१० मा खगोलशास्त्री ग्यालिलियो गेलिलीले बृहस्पति गृहका चार वटा चन्द्रमा पत्ता लगाए । आईओ, युरोपा, ग्यानिमेट र क्यालिस्टो नाम गरेका यी चन्द्रामालाई उनले पहिलो पटक देखे ।

खगोल विज्ञानमा यी चन्द्रमालाई ग्यालिलियोका चन्द्रमा पनि भन्ने गरिन्छ । सोही वर्ष उनले शनि ग्रहको ‘रिङ’ पनि पत्ता लगाए ।

त्यसको १३ वर्षपछि अर्थात् सन् १६२३ मा ग्यालिलियोले यी दुई ग्रहहरु एकआपसबाट धेरै नजिक भएको पाए । यसको नाम दिइयो ‘द ग्रेट कन्जङ्सन’ । अर्थात् बृहस्पति र शनि ग्रह सबैभन्दा नजिक हुने अवस्था ।

सौर्य मण्डलको सबैभन्दा ठूलो र पाँचौं ग्रह हो, बृहस्पति । यसले करिब १२ वर्षमा सूर्यको परिक्रमा गर्छ । शनि ग्रह बृहस्पति पछिको ठूलो र सौर्यमण्डलको छौटौं ग्रह हो । शनिले सूर्यको परिक्रमा गर्न करिब ३० वर्ष लगाउँछ । यी दुई ग्रहबीचको दूरी ४५६ मिलियन माइल हो ।

सूर्यको परिक्रमा गर्ने क्रममा यी ग्रहहरु एक आपस नजिक आएको चाहिँ हरेक २० वर्षमा देखिन्छ । अर्थात् यी ग्रहहरु हरेक २० वर्षमा ‘द ग्रेट कन्जङ्सन’ भएको पृथ्वीबाट देख्‍न सकिन्छ । यिनीहरु धेरै ढिलो परिक्रमा गर्ने भएकाले यो र यस्ता घटनाहरु हेर्न धेरै वर्ष पर्खनुपर्छ ।

सन् २००० पछि यी ग्रहहरु २०२० को डिसेम्बर २१ अर्थात् सोमबार(आज) देखिए । पृथ्वीबाट हेर्दा यी दुई ग्रहबीचको कोण दूरी ०.१ डिग्री थियो । एउटा पूर्ण चन्द्रमाको कोण दूरी ०.५ डिग्री हुन्छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराई भन्छन्,’ जुपिटर र स्याटर्न करिब ४ सय वर्षपछि सोमबार नजिक देखिए । २० वर्षपछि पनि नजिक त आँउछन् तर आजको जसरी नजिक चाही सन् २०८० को मार्च १५ मा मात्रै देखिनेछन् । दुई ठूला ग्रहहरु एक आपसमा नजिक देखिने भएकाले यिनीहरलाई द ग्रेट कन्जङ्सन भनिएको हो ।’

गत नोभेम्बर २१देखि यिनीहरु नजिक देखिएका थिए । अबको केही दिनपछि यिनीहरु विस्तारै टाढा हुँदै जाने उनले बताए ।

आकाशमा हेर्दा बृहस्पति र शनि ग्रह सबैभन्दा चम्किला देखिन्छन् । बृहस्पति शनिभन्दा केही चम्किलो देखिन्छ । बृहस्पतिको पूर्वपट्टि शनि ग्रह हुने गरेको भट्टराईले बताए । रातको समयमा ताराभन्दा पनि चम्किला देखिन्छन् । यिनीहरुलाई नांगो आँखाहरुले हेर्दा पनि देखिन्छ ।

पृथ्वीभन्दा धेरै टाढा भएकाले यिनीहरु धेरै साना देखिन्छन् । पृथ्वीबाट हेर्दा शनिको नजिक बृहस्पति देखिएको छ ।

धार्मिक रुपमा बृहस्पतिलाई शुभ र शनिलाई पाप ग्रहको रुपमा पनि लिइने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढंगेलले धार्मिक रुपमा हेर्दा यो अवस्थामा भनेर नराम्रा घटनाहरु बढ्ने सम्भावना हुने बताउँछन् । यस्तो अवस्थामा धार्मिक रुपमा गरिने शुभ कार्यहरु पनि नहुने गरेको उनले जानकारी दिए ।

यसैबीच, नासोले शनि र बृहस्पति नजिक भएको दृश्य देखाउनका लागि सोमबार खगोलमा इच्छुक राख्‍नेहरुलाई अवलोकन गराएको छ । कोरोनाका कारण सानो समूहमा भएर यी ग्रहहरु देखाएको उनले बताए ।

 

यस्तै, दुई ग्रहहरु नजिक आएको घटनालाई लिएर सर्च इन्जिन साइट गुगलले आफ्नो डुडलमा पनि बृहस्पति र शनि ग्रहको तस्बिर सोमबार राखेको छ ।