FLASH NEWS
  • Loading...

पूर्वाधार निर्माणमा जुटे पर्यटन ब्यवसायी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६७ पटक पढिएको
पूर्वाधार निर्माणमा जुटे पर्यटन ब्यवसायी

सत्तारुढ दल नेकपामा आएको विभागजनले नेकपा पार्टीलाई मात्र होईन सिङ्गो मुलुकको राजनिती तथा केन्द्रदेखी स्थानीय सत्तासम्म विभाजित र आन्दोलित भैरहेका बेला यहाँका पर्यटन ब्यवसायी भने एकजुट भएर गाउँको पूर्वाधार निर्माणमा जुटेका छन ।

नेकपाको फुटले देशको राजनिती तरंङ्गीत भएपनि पर्यटकीय गन्तब्य, पुनहिल/घोरेपानीको ब्यवसाय कोरोना कहरले ठप्प छ । होटल बाहेक सवै जग्गा सार्वजनिक भएकोले खेतीपाती पनि छैन । ब्यवसायी फुर्सदमा छन । ब्यवसायबाट पूर्ण फुर्सदमा रहेका घोरेपानीका पर्यटन ब्यवसायीले खानेपानी, सडक र सामुदायीक भवन जस्ता पूर्वाधार निर्माणमा जुटेर फुर्सदको उपयोग गरिरहेका छन ।
यतिवेला घोरेपानीका पुरुष खानेपानी योजना निर्माण तथा महिलाहरु आमा समुह भवन एवं मगर संग्राहलय पुन:निर्माणमा जुटेका छन । योजना सम्पन्न गर्न हरेक घरधुरी/होटलले अनिवार्य रुपमा श्रममा जुट्नु पर्ने छ ।
नियमानुसार गर्नु जुटाउनु पर्ने जनश्रमदान बाहेक पनि पारिश्रमिक लिएरै ब्यवसायीले अनिवार्य श्रम गर्नु पर्ने ब्यवस्था गरिएको छ । वाहिरबाट श्रमिक ल्याउँदा कोरोना संक्रमण पनि आउने डरले ब्यवसायी आफैले श्रममा जुटेर योजना निर्माण गर्न लागेका हुन ।
‘यतिवेला घोरेपानीका हरेक पुरुष खानेपानी योजनामा र महिला आमा समुहको भवन निर्माणमा जुटेका छौं । कोरोना कहरले ९ महिनादेखी ब्यवसाय ठप्प भएपछि फर्सदमा छौं । बाहिरबाट श्रमिक ल्याउँदा कोरोना आउने डरले आफै योजना निर्माणमा जुटेका छौं’ घोरेपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष टेकसर बुद्धुजा पुनले भने, ‘भैरहेको खानेपानीको मुहान सानो भयो, फेरी मुहान ओसेपमा भएकोले हिउँदमा पानी जमेर हैरान भएकोले टोल सुधार समिति मार्फत रकम जुटाएर योजना बनाएका हौं ।’
ब्यवसायीले ३२ लाख रुपैयाँ खर्चेर खानेपानी योजना निर्माण गरिरहेका छन । खानेपानी योजना सम्पन्न गर्न गाउँपालिकाले ८ लाख रुपैया अनुदान दिएको हो । बाँकी २५ लाख ब्यवसायी आफैले जुटाएका हुन ।
घोरेपानी खानेपानी उपभोक्ता समिति मार्फत दरीखोला मुहानबाट १ हजार दुई सय मिटर लामो मुख्यपाईपलाईनबाट पानी ल्याउन थालिएको हो । ४० एमएमको पाईपबाट आउने पानीलाई देउरालीको शिरानमा २५/१५ र १८/१५ फिटका दुई वटा रिर्जवयर ट्याङकीमा पानी जम्मा गरी घोरेपानीका सवै ४२ घरधुरी होटल/रेष्टुरेन्टमा वितरण गर्ने योजना रहेको छ ।
त्यसैगरी घोरेपानीका महिलाहरु आमा समुह तथा मगर संग्राहलय भवन पुन:निर्माणमा जुटेका छन । २० बर्ष अघी गाउँ घुम्न आएका पर्यटकको टिप्स रकमबाट घोरेपानी देउरालीमा निर्माण गरिएको घोरेपानी आमा समुह तथा मगर संग्राहलय जीर्ण भै भत्कने अवस्थामा पुगेपछि १० लाख रुपैयाँ खर्चेर पुन:निर्माण गर्न थालिएको हो ।
‘पुरानो भवन ढुङ्गामाटोको थियो, काठ विच्छ्याएको । त्यो जीर्ण भयो । अव भुई ढलान गर्ने, प्लास्टर गर्ने र स्वरुप परिवर्तन गर्ने गरी काम थालेका छौं’ घोरेपानी आमा समुहकी सदस्य तारा पुनले भनिन्, ‘आमा समुहको रकममा गाउँपालिकाले पनि केही रकम थपेको छ ।’
आमा समुह भवन बनाउन घोरेपानीका सवै ४२ घरबाट महिलाहरु गट्टी कुट्ने कामा लागेका छन । वस्ती नजिकै क्रसर छैन त्यसैले महिलाहरु गाउँदेखी केही पर जंगलमा पुगेर ढुङ्गा जम्मागरी गिटी कुट्ने गर्छन । गिटी कुटेको भने पैसा पाईन्छ । कोरोना भाईरस सर्ने डरले गाउँमा बाहिरबाट श्रमिक नल्याउने सल्लाह अनुसार नै सवै महिला काममा लागेका हुन ।
‘घोरेपानीमा योजनामा जनश्रमदान जुटाउन सजिलो छ । सामाजिक काम भनेपछि सवै आउँछन । तर योजनामा स्थानीय सामाग्री जुटाउने काम स्थानीयलाइ दिएको हुन्छ, त्यही काम समस्या हुन्छ । किनभने हामी माथी डाँडामा छौं, तल खोलाबाट गिटीवालुवा ल्याउँदा २३ किमी कच्ची सडकमा ट्याक्टरलाई पुरै एक दिन लाग्छ । योजनाको आधाबढी रकम ढुवानीमै जान्छ’ घोरेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले भने, ‘संरक्षित क्षेत्र, गुराँश नै यहाँको मुख्य सम्पदा हो, वस्तीका घरबाहेक सवै राष्ट्रिय वन भएकोले काठ ब्यवस्थापन गर्न, जथाभावी जंगलबाट ढुङ्गा झिक्न पनि पाईदैन, तल कालीगण्डकीबाट किनेर ढुङ्गा, गिटी, वालुवा समेत निर्माण सामाग्री पुरै ढुवानी गर्दा महंगो पर्छ ।’
घोरेपानीका आमाहरु दुर्लभ बन्दै गएका पुर्खाको चिनो संरक्षण गर्न ‘ग्रामिण संग्राहलय’ खोलेका छन् । ग्रामिण संग्राहलय खोल्न आमाहरुले पाहुनाको स्वागत सत्कारबाट उठेको ‘टिप्स’ रकमले लोपउन्मुख पुख्यौली सामानको जोहो गरेका हुन् ।
भावी सन्ततीलाई पुर्खाको चिनो चिनाउने उद्देश्यले स्थापना गरिएका यस्ता ग्रामिण संग्राहलयमा चर्खा, खर्पेटो, कोर्को, रैया, कर्नाफुली, सिस्नुको भाङ्ग्रा, ओदान, सन्दुस, भकारी, ढिकी, जाँतो, ढलोट र तामाका भाँडा, स्याखु, लालटिन, थाल, ताप्के, गोठमा प्रयोग गरिने ठेको, मदानी, ज्यावो, घुम, देखी कुटोकोदालो देखी स्थानिय मगर महिलाहरुले प्रयोग गर्ने जन्तर, मुगा, कण्ठी, बाला, पोतेलगाएत गरगहना र लगाउने पोसाकहरु आदी–आदी त्यहाँ राखिएका छन् ।
मगर जातीको जन्मदेखी मृत्यु संस्कारसम्म झल्कने सामान, भांडावर्तन, गरगहनालाई उनीहरुले छिमेकी गाउँहरु राम्चे, काफलडाँडा, बनौ, नागी, हिस्तान लगाएतका गाउँबाट सस्तोमा खरिद गरेका र केही त्यसै जम्मा गरेका हुन् । संग्राहलय निशुल्क हेर्ने सुविधा छ । पर्यटकले संग्राहलय हेरेर फर्केपछि प्रभावित भै आफै थप सुधार गर्न सुझाउ सहित चन्दा दिने गरेका छन् । यही नै संग्राहलयको आम्दानीको श्रोत हो ।

यसरी सामाजिक संस्कारमा सहयोग गरे वापत आमा समुहले केही स्वच्छिक शुल्क लिने गर्छ ।
त्यति मात्र होईन, लकडाउन सुरु भएयताको ९ महिनामा घोडेपानीका पर्यटन ब्यवसायीले पुनहिलमा हिउँपानी पर्दा पर्यटकले ओतमा बसेर सूर्योदय/सूर्यास्त हेर्न भवन निर्माण, घोरेपानीदेखी पुनहिलसम्म विचविचमा सोलार वत्ति राख्ने, चित्रेबाट घोडेपानी पुग्न ५ किमी सडकमा ग्राभेल गर्ने काम पनि गरेका छन । सडक ग्राभेल भएपछि हिउँदवर्खा सवै सिजनमा आन्तरिक/बाह्य पर्यटकलाई गाडीमा घोरेपानी पुग्न सजिलो भएको छ ।