FLASH NEWS
  • Loading...

कोरोना भाइरस चीनमा देखिनु अघि नै अस्तित्वमा रहेको खुलासा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४२ पटक पढिएको
कोरोना भाइरस चीनमा देखिनु अघि नै अस्तित्वमा रहेको खुलासा

कोरोना भाइरस चीनमा देखिनु भन्दा अगाडि लामो समयदेखि अस्तित्वमा रहेको हुन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष सङ्क्रामक रोगसम्बन्धी एउटा जर्नलमा प्रकाशित गरेका हुन् ।

महामारीको सिलसिला आधिकारिक रूपमा सन् २०१९ को डिसेम्बर ३१ तारिखमा चीनको वुहान शहरका स्वास्थ्य अधिकारीहरूले एउटा रहस्यमय श्वासप्रश्वाससँग जोडिएको भाइरसका शृङ्गखलाबद्ध घटनाहरूका बारेमा चेतावनी जारी गरेपछि सुरु भएको थियो ।

तर अहिले ११ महिनापछि अनुसन्धानकर्ताहरूले अमेरिकाका तीनवटा राज्यका ३९ जनामा चीनले चेतावनी जारी गर्नुभन्दा दुई हप्ताअघि नै “एन्टीबडी’ विकास भइसकेको फेला पारेका छन् ।

अमेरिकामा सार्स-कोभ-२ जनवरी २१, २०२० अघि देखापरेको थिएन । तर अध्ययनले १३ डिसेम्बर २०१९ र १७ जनवरी २०२० को बीचमा गरिएका नियमित रक्तदानका क्रममा सङ्कलन गरिएका ७ हजार ३८९ नमुनामध्ये १०६ वटामा कोरोनाभाइरसको एन्टीबडी फेला पारेको छ ।

कुनै व्यक्तिको रगतमा एन्टीबडी देखापर्नुको अर्थ त्यस्ता मानिसहरू भाइरसको सम्पर्कमा पुगेर उनीहरूका शरीरको प्रतिरोधी प्रणालीले रक्षात्माक प्रतिक्रिया जनाउन थाल्नु हो ।

त्यसमध्ये क्यालिफोर्निया, ओरिगन र वाशिङ्गटनमा १३ देखि १६ डिसेम्बरका बीचमा दान गरिएका रगतका ३९ वटा नमुनामा कोरोनाभाइरसको एन्टीबडी पाइएको थियो ।

उनीहरूले कनेटिकट, आयोवा, मासचूसिट्स, मिशिगन, रोड आइल्यान्ड र विस्कन्सिनमा जनवरीको प्रारम्भमा सङ्कलन गरिएका ६७ नमुनामा पनि एन्टीबडीहरू फेला परेका थिए । त्यसबेला ती राज्यमा सङ्क्रमण फैलिसकेको थिएन । सुरुमा सङ्क्रमित भएका बहुसङ्ख्यक पुरुष थिए र उनीहरूको औसत उमेर ५२ वर्ष रहेको थियो ।

वैज्ञानिकहरूले कतिपय एन्टीबडीहरू विश्वमा पहिल्यै अस्तित्वमा रहेका अरू प्रकारका कोरोनाभाइरसले निम्त्याएको प्रतिरोधी प्रतिक्रियाका कारण उत्पन्न भएको हुनसक्ने बताएका छन् । तर अध्ययनका क्रममा ठूलो सङ्ख्यामा मानिसहरूमा एन्डीबडीहरू फेला परेकाले त्यसबेला केही मानिसहरूलाई कोभिड-१९ भइसकेको हुनसक्ने बढी सम्भावना रहेको उनीहरूको ठम्याइ छ ।

अनुसन्धानकर्ताहरूले व्यापक रूपमा फेब्रुअरी महिनामा अमेरिकामा कोरोनाभाइरस समुदाय स्तरमा फैलिएको उल्लेख गरेका छन् ।

बीबीसीबाट