FLASH NEWS
  • Loading...

गति लिँदै नेपालको पर्यटन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२२ पटक पढिएको
गति लिँदै नेपालको पर्यटन

कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र दुई लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

तुलनात्मकरूपमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएपछि बोर्डले सम्भावित अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी प्रवर्द्धनको रणनीति बनाउन लागेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लोपटक नोभेम्बरमा मात्रै एक हजार ९४७ पर्यटक नेपाल घुम्न आएका छन् । अक्टोबारमा एक हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मकरूपमा क्रमशः विदेशी पर्यटक आवागमन बढ्दै गएको र प्रतिशतमा पाँचदेखि १० प्रतिशत वृद्धिदर रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबाट २०९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै भारतबाट १२३ र रुसबाट १०२ तथा क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्ट्रेलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका बोर्डको विवरण छ ।

नेपालको पर्यटनको प्रमुख स्रोत बजार भारत, चीन र अमेरिकापछि चौथो नम्बरमा बेलायत पर्छ । बेलायतले यसै सातादेखि आमसमुदायमा खोप प्रयोगमा ल्याउने भएपछि विश्व पर्यटन बजारमा आशाका किरण देखापरेका छन् । कोभिडको खोप विकाससँगै पर्यटन बजार पुरानै लयमा फर्कने अनुमान गरिएको छ ।

बोर्डका निर्देशक मणि लामिछानेले बेलायतले खोप प्रयोगका लागि अनुमति दिएसँगै विश्व बजारमा नयाँ आशाको सञ्चार छाएको बताए । उनले भने, “कोभिड खोपले आशा जगाएसँगै विश्व बजारमा पर्यटनलगायत आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ । अहिलेको अवस्थामा पर्यटनको कस्तो रणनीति बनाउने भन्ने विषयमा बोर्डले गृहकार्य गरिरहेको छ ।”

कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत ८ गतेदेखि नै अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको थियो । बन्दाबन्दी र पछिल्लो निषेधाज्ञापछि करिब छ महिनाको अन्तरालमा गत भदौ १६ देखि नियमित अन्तराष्ट्रिय उडान शुरु भएको थियो । गत असोज ५ देखि मुलुकको आन्तरिक उडान सञ्चालनमा आएको थियो ।

कोभिडका कारण उनीहरु अहिले उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । हालको अवस्थालाई पनि मध्यनजर गर्दै बोर्डले आगामी रणनीति बनाउन लागेको निर्देशक लामिछानेले जानकारी दिए । उनले अहिले पर्यटन प्रवर्द्धनका लागि विभिन्न काम भइरहेको र आन्तरिक पर्यटन प्रवर्द्धन समितिले पनि प्रवद्र्धनका गतिविधिबारे तयारी गरिरहेको बताए ।

सरकारले गत अक्टोवर १७ बाट विदेशी पर्यटकका लागि नेपाल खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गरेर विदेशी नागरिक नेपालको पदयात्रा तथा पर्वतारोहणलगायत गतिविधिमा आउन सहज भएको छ ।