FLASH NEWS
  • Loading...

टुकी विस्थापित गरी सवैको घरमा सौर्य उज्यालो पुर्‍याउँदै धौलागिरी गाउँपालिका

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४० पटक पढिएको
टुकी विस्थापित गरी सवैको घरमा सौर्य उज्यालो पुर्‍याउँदै धौलागिरी गाउँपालिका

सवैको घरमा केन्द्रीय विधुत, लघु जलविधुत र सौर्य उर्जाबाट उज्यालो पुर्‍याएपछि दुर्गम धवलागिरी उज्यालो गाउँपालिकाले परम्परागत वत्ति टुकी विस्थापित गर्दै छ ।
टुकी वालेर उज्यालो गर्दै आएका कुल १ सय ५२ घरधुरी मध्य १ सय ४० घरमा सौर्य उर्जाबाट वत्ति पुर्‍याएपछि उज्यालो गाउँपालिका घोषणा तयारीमा लागेको छ । बाँकी १२ घरमा संभव भए केन्द्रीय विधुत पुर्‍याउने र नपुग भए आफैले खर्चेर भएपनि सोलार जोड्ने गाउँपालिकाले जनाएको छ ।
‘केन्द्रीय, माईक्रो हाईड्रो वा सौर्य उर्जा विधुतिकरणमा पनि जोड्न नमिल्ने दुर्गम गाउँपालिकाको पनि अति दुरदराजमा छरिएका घरबाट टुकी, भाङु र दियालोको वत्ति विस्थापित गरी सोलार विजुली जोड्ने अभियानमा छौं’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘केन्द्रीय लाईन र माईक्रो हाईड्रो भएका वस्तीका छेउछाउमै टुकी वाल्ने घर हुने रहेछन ।’
प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले दिएको विवरण अनुसार धवलागिरी गापाका कुल ३ हजार १ सय २९ घरधुरीमध्य वडा ६ मराङका एक सय ५० र ७ वडा ताकमका करिव ८ सय घरमा मात्र केन्द्रीय विधुत पुगेको छ । गाउँपालिका केन्द्र रहेको मुना समेत धौलागिरी गापा, १ गुर्जा, २ लुलाङ, ३ मुना, ५ मल्कवाङ, ६ सोलवाङमा गरी १ हजार ५ सय ४२ घरमा माईक्रो हाईड्रोबाट विधुतीकरण गरिएको छ ।
त्यस्तै धौलागिरी गापा, ४ मुदी र खाम्लाका ३ सय १७ घरमा घरमा सौर्य वत्ति बाल्ने गरिएको छ । मुना, मुदी र खाम्लामा केन्द्रीय विधुत पुर्‍याउन गत फागुनमै ट्रान्सफर्मर पुर्‍याइएपनि लकडाउनको कारण देखाएर काम रोकिएको छ । छुट्टै चेचुङमा १६ वाट र बगरामा १६ वाट क्षमताका सौर्य उर्जा प्लान्ट जडानबाट ३ सय ३० घरधुरीमा सौर्य विधुत पुर्‍याइएको छ । केही घरमा माईक्रो र सौर्य दुवै विधुत जोडिएका छन ।
खर्च गर्छ गाउँपालिका, महसुल उठाउँछ विधुत प्राधिकरण
केन्द्रीय विधुत लाईन वस्तीसम्म पुर्‍याउन गाउँपालिकाले बर्षेनी ठूलो लगानी गर्दै आएको छ । तर विधुत प्राधिकरणले विना लगानी महसुल असुल गर्दै आएको छ ।
धवलाागिरी गाउँपालिकाले १ करोड ४० लाखबढी खर्च गरेर छिमेकी मालिका गापा केन्द्र दरवाङबाट ताकम क्षेत्रमा केन्द्रीय विधुत पुर्‍याउन तारपोल खरिद, ढुवानी, प्रशारण तथा वितरण लाईन टाँग्ने खर्च गरेको छ । छुट्टै १५ लाख खर्चेर हेलिकोप्टरबाट ट्रान्सफर्मर ढुवानी गरेको छ ।
‘तारपोल खरिद, ढुवानी हामी आफै गरेका छौं । ट्रान्सफर्मर पनि आफैले ढुवानी गरी ल्याएका छौं । आएर विजुली जोड, अक्कलझुक्कल वत्ति बालेर महसुल असुल गरी लैजाउ भन्दापनि विधुत प्राधिकरण गाउँमा आउन मान्दैन’ धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले भने, ‘मुदी र खाम्लामा ट्रान्सफर्मर ल्याएर राखेको पनि एक बर्षबढी भयो । ट्रान्सफर्मर नै खियाले खायो, प्राधिकरण आएर चार्ज गर्दैन ।’
केन्द्रीय विधुत अहिले ताकमको मच्छिमसम्म पुगेको छ । मच्छिमबाट गाउँपालिका केन्द्र रहेको मुना, पारी दर, मुदीहुँदै खाम्लासम्म प्रशारण तथा वितर लाईनका तारपोल स्थानीयले जनश्रमदान गरी वस्तीमा पुर्‍याएका छन । पोलहरु गाडेका छन । ९ महिना अघि नै घरघरमा वयरिङ समेत गरेका छन तर विधुतका कर्मचारी नआएकोले विधुतिकरण कार्यक्रम अलपत्र छ । स्थानिय निरास छन । वारीमा राखेको ट्रान्सफर्मरमा झरीवादल र माटोले गर्दा खिया लाग्न थालेको छ ।
‘काधको खाला खुईलिने गरी एक हप्तासम्म जनश्रमदानगरी तारपोल बोकियो, घर–घरमा वयरिङ गरियो । ९ महिना पुग्यो, ट्रान्सफर्मर ल्याएको । विधुत कार्यालयले हिस्स बनाईदिएको छ’ धौलागिरी गापा, ४ मुदीका युवा विजय घर्तीले भने, ‘आफ्नै (गापा र समुदायको) खर्चमा तारपोल, खरिद, ढुवानी, टान्सफर्मर ढुवानी गरेर र विजुली प्राविधिकलाई मासुभात र रक्सी खुवाएर अनि विजुली जोडिदेउ हामी महसुल तिर्र्छौ भन्दा पनि नपाईने कस्तो सिस्टम रहेछ, प्राधिकरणको ।’
नेपाल विधुत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विधुतिकरण गर्न लागिएका वस्ती वाक्लो एक आपसमा घर जोडिएका घनावस्ती भएकोले खुल्ला तार असुरक्षित हुने भएकोले एविसी केवुल तार राख्ने खोजेको हो, प्रदेश कार्यालयबाट तार उपलब्ध नभएकोले वितरण लाईन टाँग्न ढिलाई भएको जनाएको छ ।
‘धमाधम काम भैरहेको अवस्थामा लकडाउन भएपछि कर्मचारी/मजदुर घर फर्के, केही प्रशारण लाईनको तार ढुवानी पनि रोकिएको हो’ विधुत प्राधिकरण म्याग्दी कार्यालय प्रमुख माधव महतले भने, ‘छरिएका वस्ती तर वस्तीका घर एकआपसमा जोडिएको हुँदा वितरण लाईनमा खुल्ला तार राख्न समस्या छ, जोखिम भएकोले एविसी केवुल ल्याउन खोजेका हौं । प्रदेश कार्यालयले पनि एविसी तार ल्याउन सकेको छैन । ढिला भएपनि सुरक्षित नै खोजेका हौं । एकाध महिनामा वत्ति बल्छ ।’
केन्द्रीय विधुत पुर्‍याउन मात्र होईन धवलागिरी गाउँपालिकाले माईक्रो हाईड्रो मर्मत तथा सौर्य उर्जा प्लान्ट राख्न पनि बर्षेनी ५० लाखबढी खर्च गर्ने गरेको छ । माईक्रो हाईड्रो र सौर्य उर्जा प्लान्ट जोडेपछि धवलागिरी गापाका दुर्गम वस्तीमा उज्यालो मात्र पुगेको छैन, कुटानी, पिसानी जस्ता दैनिक जीवनमा समेत सहज बनाएको छ ।
‘तत्काल केन्द्रीय विजुली पुग्ने कुनै संभावना नरहेको अँध्यारो वस्ती बगराका घरमा उज्यालो भएको छ । घरमा मात्र होईन, आत्मसम्मानमा पनि उल्यालो छाएको छ’ धवलागिरी गापा, ४ बगराका हरी तिलिजाले भने, ‘बर्खा गाउँकै छेउमा बग्ने खहरे खोलामा घट्ट राखेर अन्नपिस्ने गथ्र्यौ तर हिउँदमा भने खोलामा पानी सुक्थ्यो त्यसैले चार घन्टा परको मुदी पुगेर अन्न पिस्थ्यौं वा घरमै जाँतोमा मिस्न बाध्य थियौं । अहिले सजिलो भएको छ ।’
बगरा भौगोलिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक सवै क्षेत्रबाट जिल्लाको अति दुर्गम वस्ती हो । बगरा वस्तीमा ०६३ सालपछि नाउराको भीरमा विष्फोटनगरी घोडेटो बाटो बनेपछि मात्र खच्चडबाट ढुवानी हुन थालेको हो । ०७४ सालमा छुट्टै मतदान केन्द्र तोकिएपछि मात्र बगराबासीले मतदान गरेका थिए ।