FLASH NEWS
  • Loading...

पहिरोले विद्यालय पुन:निर्माण नहुँदा हिउँदको चिसोमा विद्यार्थी चौरमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४१ पटक पढिएको
पहिरोले विद्यालय पुन:निर्माण नहुँदा हिउँदको चिसोमा विद्यार्थी चौरमा

तस्वीर : किरण थापा

पहिरोले क्षतिग्रस्त विद्यालय पुनर्निमाण नहुँदा यहाँको एक विद्यार्थी चिसो सिरेटोमा पनि बाहिर चौरमा बसेर पढ्न बाध्य छन ।
गत असार २६ गतेको भिषण बर्षापछि गएको पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त विद्यालय भवन पुनर्निमाण नहुँदा धौलागिरी गाउँपालिका, ७ धारापानी स्थित किसानी माध्यामिक विद्यालयका शिक्षक/विद्यार्थी यस चिसो मौषममा पनि बाहिर चौरमा बसेर अध्ययन/अध्यापन गर्न बाध्य भएका हुन ।


झट्ट हेर्दा पहिरो देखिन्न । तर भित्र भित्र चलेको पहिरोले विद्यालय भवन रहेको क्षेत्र समेत पुरै वस्ती बगेको हो । विद्यालय मात्र होईन, धारापानीका कम्तीमा ३० घर बस्न नमिल्नेगरी क्षतिग्रस्त भएपछि =जना स्थानीय असार २७ देखी असोज विस्थापित छन ।
‘विद्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त छ । विद्यार्थी कक्षामा राखेर पढाउन सकिने अवस्था नै छैन । विद्यालय ब्यवस्थापन समितिदेखी गाउँपालिका प्रमुखहरु सवैले स्थिती देख्नु भएकै छ । ४ महिनाबढी भयो, विद्यालय पुनर्निमाण हुन सकेको छैन’ प्रधानअध्यापक ध्रुवबहादुर भण्डारीले भने, ‘गत भदौदेखी अनौपचारिक र मंसिर ८ गतेदेखी औपचारिक रुपमा विद्यालय खुलेको छ, घाम लाग्दा चौरमा राखेर पढाउँछौं, पानी पर्दा स्कुलनै विदा हुन्छ ।’


कोरोना कहरको कारण बन्द भएका विद्यालय मंसिर दोस्रो सातादेखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विहान ८–१२ र १२–५ बजेसम्म संञ्चालन गरिएको छ । विहान घाम नझुल्किदै शीतले लछप्पै झिजेको चिसो चौरमा बस्नु पर्ने र साँझ शीत पर्न सुरुहुँदा सम्म चिसो सिरेटोमा बाहिर चौरमा बसेर अध्ययन अध्यापन गर्नु पर्दा सास्ती भएको छ ।
१० कक्षासम्म अध्ययन/अध्यापन हुने विद्यालयमा २ सय ८० जना विद्यार्थी अध्ययनरत छन । मावि तहका तीन जना राहत शिक्षक समेत १३ जना शिक्षक तथा कर्मचारी रहेका छन ।


‘भर्खरै नयाँ भवन बन्न सक्ने छैन । जस्तापाताको अस्थाई छाप्रो बनाउन पनि विद्यालय एक्लैले नसकेपछि गाउँपालिकालाई गुहारेका छौं’ विद्यालय ब्यवस्थापन समितिका किरन थापाले भने, ‘हिउँदको कठ्याङ्ग्रीने जाडो, त्यसमाथी धौलागिरी हिमालबाट सोझै ठोक्किन आउने सिरेटोले आफ्नै छोराछारीलाई सास्ती भएको छ । अव हिउँ पर्ने बेला भयो, खेल मैदानमा जस्ता पाताको छाना र जस्ताकै वार लगाएर अस्थाई विद्यालय बनाउने प्रयासमा छौं । श्रोत सुचिश्चित भएपछि काम थाल्छौं ।’
विद्यालयको १९ कोठे ढुङ्गेछाना भएको भवन बस्नै चमिल्ने गरी भत्किएको हो । कक्षा कोठाहरु धजाधजा भै फाटेका छन, भित्ता भत्केका र छाना दविएको छ । विद्यालयको छुट्टै चार कोठे आरसिसि भवन पनि चर्किको छ । चर्किको भएपनि यही आरसिसि भवनमा विद्यालयका कार्यालय समेत अन्य महत्वपूर्ण कागजात, सामाग्री राखिएको छ । छात्रा, छात्र र शिक्षक कर्मचारीका छुट्टाछुट्टै तीन वटा शौचालय पनि भत्केका छन ।
‘हामीले किसानी मावि धारापानीको अस्थाई भवन बनाउन प्राविधिकबाट नापजाँच गरी लगतइष्टीमेट गराएका छौं । मंसिर भित्र विद्यालयको अस्थाई संरचना तयार भै विद्यार्थीलाई बाहिर शितबाट कक्षा कोठामा सार्छौं’ इन्जिनियर सहित क्षतिग्रस्त विद्यालय पुगेकी धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘अहिले भुगर्भ विदहरु गत असार २६ गतेको भारी वर्षापछि गएको पहिरोग्रस्त क्षेत्रको अध्ययनमा हुनुहुन्छ । हामीले गाउँपालिका भित्रका धारापानी समेत कम्तीमा चार वटा वस्तीको रिसेटलमेन्ट गराउने योजनामा छौं । किसानी मावि रहेको जमिनको पनि अध्ययनपछि नयाँ संरचना बनाउने प्रकृया शुरु हुन्छ ।’