FLASH NEWS
  • Loading...

कोरोना कहरविच ८ महिनापछि खुले विद्यालय

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११८ पटक पढिएको
कोरोना कहरविच ८ महिनापछि खुले विद्यालय

कोरोना कहरले चैतदेखी बन्द सामुदायीक तथा संस्थागत विद्यालयहरु ८ महिनापछि खुलेका छन । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार कक्षा कोठामा विद्यार्थीहरु विच सामाजिक दुरी कायम गर्न भीडभाड कम गर्न विहान र दिउँसोगरी दुई चरणमा विद्यालय खुलेका हुन ।
मन्त्रीपरिषद वैठकले विद्यालय संञ्चालन कार्यढाँचा, ०७७ स्वीकृत गरेसँगै जिल्लाका एक नगरपालिका समेत ६ वटै स्थानीय तहमा रहेका निजी तथा सामुदायीक सवै दुई सय ३२ वटा विद्यालयमा सोमबारदेखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै औपचारिक अध्ययन/अध्यापन सुरु भएको हो ।
‘मंगलवारदेखी पोसाकमा शिक्षक–विद्यार्थी विद्यालयमा उपस्थित भै नियमित कक्षा सुरु गरेका छौं’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘हामी त पहिल्यै देखी विद्यालय खोलौं भन्ने पक्षमा थियौं । सदरमुकामका विद्यालयहरु खुलेपछि हामीलाई सजिलो भयो । अनौपचारिक रुपमा त हाम्रा विद्यालय साउनदेखी नै संञ्चालन गरेका थियौं ।’
विद्यालय खुलेपनि विहान ८–१२ र १२–४ गरी चार–घन्टामा शैक्षिक दिन गरी दुई चरणमा अध्यापन हुने भएका छन । कक्षा कोठामा २० जनाबढी विद्यार्थी नहुने, एक वेन्चमा दुई जना रहने, विद्यालय प्रवेश अघि ज्वोरो मापन गर्ने मास्क, फेससील अनिवार्य गरिएको छ ।
त्यसै विद्यालय खुलेपनि नियमित रेष्ट र टिफिन समय हटाईएको छ । खेल खेल्न रोक लगाईएको छ । कक्षा कोठामा शिक्षकले अन्य समयमा जस्तो विद्यार्थीको वेन्चमा पुगेर गृहकार्य जाँच्ने गर्ने छैनन वरु गृहकार्य कक्षा शिक्षकले सेतो पार्टीमा लेखी विद्यार्थीलाई रुजु गर्न लगाउने छन ।
‘कोरोना संक्रमण जोखिम आंकलन गरी स्थानीय सरकारले नै विद्यालय खोल्न सक्ने कार्यढाँचाले स्वीकृत भएको अवस्थामा हामीले पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेगरी विद्यालय खोज्ने निर्णय गरेका हौं’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘सम्बन्धीत विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने प्रतिवद्धता गरेपछि अध्ययनगरी स्वीकृत गरिएको हो । ८ महिनापछि औपचारिक रुपमै विद्यालय खुलेका हुन ।’
लामो समयपछि विद्यालय जान पाउँदा विद्यार्थी उत्साही भएका छन । तर सदरमुकामका विद्यार्थीले भने कोरोना कहरका विच लामो समयपछि विद्यालय जाँदा केही डर, केही तनाव महसुस भएको बताएका छन । पढ्ने, होमवर्क गर्ने वानी छुटेको र लामो समयपछि भेटिएका साथीभाई सँग घुलमिल र रमाईलो गर्न नपाउँदा अप्ठ्यारो महसुस भएको बताए ।
‘विद्यालय खुल्यो, पढ्न पाउँदा खुसी भएका छौं । तर ८ महिनापछि भेटिएको साथीहरुसँग नजिकै जान पनि नपाईने, मास्क लगाएर, फेससील लगाएर लामो समय कक्षा कोठामा बस्दा उकुसमुकुस भएजस्तो भयो’ सदरमुकाम बेनीको लिटल गार्डेन एकेडेमी कक्षा १० की छात्रा एलिशा खड्काले भनिन, ‘विस्तारै वानी पर्ला, फेरी हाम्रै स्वास्थ्यको लागी त हो ।’
विद्यालय संञ्चालन कार्यढाँचाले कोरोना संक्रमणको जोखिम आंकलन गर्ने र ब्यवस्थापन गर्ने दायित्व स्थानीय तहलाई नै प्रदान गरेकोले सचेत र सजगतासहित विद्यालय खुलेको जिल्ला कोभिड कन्ट्रोल ब्यवस्थापन समितिले जनाएको छ ।
‘जिल्लाका सवै विद्यालय खुलेका छन । स्थानीय तहले आफ्नो समुदायमा कोरोना संक्रमण जोखिमको आंकलन गरी विद्यालय खुलेका हुन । संक्रमण फैलिएको अवस्थामा बन्द हुन्छन’ जिल्ला कोभिड कन्ट्रोल ब्यवस्थापन समितिका अध्यक्ष उमाकान्त अधिकारीले भने, ‘सतर्क, सावधानीपूर्वक विद्यालय खुलेका भएपनि हाल परिक्षणकै चरण रहने छन । असर र प्रभाव हेरी भौगोलिक क्षेत्रगत रुपमा निर्णय हुने छन ।’
स्थानीय तहले विद्यालय खुल्दा एक जना विद्यार्थीमा कोरोना प्रमाणित नहुँदै रुखाखोकी, ज्वोरो जस्ता लक्षण देखिए ति विद्यार्थीलाई केही दिन विद्यालय आउन रोक्ने, धेरै विद्यार्थीमा देखिए विद्यालय वन्द गर्ने र बढी भए गापा नै वन्द गर्ने गरी तयारी गरिएको छ ।
विद्यालय समुदायको एउटा हिस्सा हो । समुदायमा जनजीवन सामान्य रहेको अवस्थामा विद्यालय मात्र बन्द गर्ने कुरा उपयुक्त थिएन । कोरोना संक्रमणमो जोखिमको स्थानीय सरकारले आफैले आंकलन गरी कम जोखिम क्षेत्रमा पहिल्यै विद्यालय ख्ुल्नु पथ्र्यो, ढिला भएपनि खुलेर राम्रो भएको धौलागिरी गापा, ७ धारापानी स्थित किसानी माध्यामिक विद्यालयका प्रधानअध्यापक ध्रुव भण्डारीले बताए ।