FLASH NEWS
  • Loading...

लक्षण र चिन्ह भएकाको कोरोना परीक्षण र उपचार सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८० पटक पढिएको
लक्षण र चिन्ह भएकाको कोरोना परीक्षण र उपचार सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क

कोरोनाको लक्षण र चिन्ह भएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क हुने भएको छ । तर त्यसरी उपचार लिने व्यक्तिहरुले कुनै वीमा कम्पनीबाट कोरोना वीमा गराएको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट असुलिने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको बुधबारको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले लक्षण र चिन्ह देखिएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क हुने बताए ।

सरकारले कोरोनाको उपचारका केही निजी अस्पताल र मेडिकल कलेजसंग समेत सम्झौँता गरी त्यहाँको सेवा समेत प्रयोग गरेको छ । त्यस्ता अस्पतालमा पनि उपचार गर्दा पैसा लाग्दैन् । तर कोरोना विमा गरेको छ भने त्यस्तो व्यक्तिको उपचार खर्च भने वीमाबाट नै असुलिने डा गौतमले स्पष्ट पारे । उनले सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचारमा योगदान गर्न सक्ने समेत बताए ।

गत ३० भदौमा सरकारले गरीव तथा विपन्न, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको परीक्षण र उपचार मात्रै निशुल्क गर्ने बताएको थियो । सो निर्णयपछि कोरोना महामारीको बेला परीक्षण र उपचारबाट सरकार भागेको भन्दै आलोचना भएको थियो ।

जनताको कोरोना परीक्षण र उपचार निशुल्क हुनुपर्ने भन्दै सर्बोच्चमा रिट समेत परेको थियो । गत १५ असोजमा सर्बोच्चले परीक्षण र उपचार निशुल्क गर्नुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश जारी गरेको थियो । सोही आदेश अनुरुप गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय गरेको हो ।