FLASH NEWS
  • Loading...

म्याग्दीका कोरोना अस्पतामा डाक्टर पाईएनन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०२ पटक पढिएको
म्याग्दीका कोरोना अस्पतामा डाक्टर पाईएनन

कोरोना भाईरसको संक्रमण समाजमा तिब्र फैलन थालेपछि स्थानीय तहमा निर्माण गरिएको अस्थाई कोरोना अस्पताललाई डाक्टरको समस्या भएको छ ।
समुदाय स्तरमा कोरोना संक्रमण भयावह हुने आंकलनगरी स्थानीय तहमा ५ बेड क्षमताको कोभिड–१९ अस्थाई अस्पतालकालागी मेडिकल अफिसर (डाक्टर)समेत स्वास्थ्यकर्मी नियुक्त गर्न दरखास्त आहन गरेपनि ति स्थानीय तहले डाक्टर पाएका छैनन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो ३ महिनाकालागी १० लाख बजेट निकासा दिएर ५ लाखबाट बेड समेत स्वास्थ्य सामाग्री खरिद तथा ५ लाखबाट एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी नियुक्त गर्न अख्तियारी पठाएको थियो ।
‘गाउँपालिकामा ५ बेडको कोभिड–१९ अस्थाई अस्पताल त स्थापना गऱ्यौं तर त्यहाँ रहने मेडिकल अफिसर (डाक्टर) पाएका छैनौं’ जिल्लाको तुलनात्मक सुगम मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘एक दुई जनासँग अरु मार्फत कुरा भएपनि ‘तीन महिना मात्र भन्दै पन्छने गरेका छन । प्राथमिक स्वास्थ्य चौकीमा स्तरवृद्धी भएकोले भविस्यमा पनि करारमा निरन्तरता दिन्छौं भनेका छौं । तर दरखास्त कसैको आएको छैन ।’
मंगला गाउँपालिकाले अर्मन हेल्थपोष्टको एक खण्डमा सेवा प्रभावित नहुनेगरी हल समेतका रिक्त कोठा प्रयोग गरी २ वटा अक्सिजन सिलिण्डरसहित अस्थाई कोरोना अस्पतालको पूर्वाधार तयार पारेको छ । कोरोना अस्पतालमा अहिले गाउँपालिका घरमै आईसोलेसन बनाई बस्न नसक्ने संक्रमितलाई राखेको छ ।
मंगला गाउँपालिकाले मात्र होईन दुर्गम धौलागिरी गापाले ताकम स्वास्थ्यचौकी भवनमा अस्थाई कोरोना अस्पताल बनाउन प्रकृया थालेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार धौलागिरी गापाले एक मेडिकल अफिसरसमेत तीन स्वास्थ्यकर्मीको दरखास्त आहन गरेपछि एक जना स्टार्फ नर्सबाहेक अन्यले आवेदन गरेका छैनन ।
त्यसैगै मालिका गापाले दरवाङ्गको छ्यारछ्यारे सामुदायीक भवनमा, रघुगंगा गापाले पिप्ले स्वास्थ्यचौकी भवनमा र अन्नपूर्ण गापाले नारच्याङ वेंशीमा नेपाली सेनाले प्रयोग गरी छोडेको भवनमा अस्थाई कोरोना अस्पताल निर्माण गर्न प्रकृया थालेका छन ।
‘हामीले नारच्याङ वेंशीमा नेपाली सेनाले प्रयोगपछि रिक्त भवनमा कोरोना अस्पताल बनाउन बेड समेतका स्वास्थ्य सामाग्री खरिद प्रकृया थालेका छौं । तर डाक्टर नै पाईएको छैन’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले भने, ‘स्टार्फ नर्स त सम्पर्कमा आएका छन । तर डाक्टर सम्पर्कमा नआएकोले पुन: विज्ञापन गर्ने वा के गर्ने अन्यौलमै छौं ।’
त्यसैविच मालिका गाउँपालिकाले भने दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा करार समाप्त भएका डाक्टरलाई नै कोभिड–१९ अस्थाई अस्पतालमा नियुक्त गरेको छ । मालिका गापाले कोभिड–१९ अस्थाई अस्पताललाई आवश्यक आईतवार डाक्टरसमेत सवै स्वास्थ्यकर्मी छनौट गरेको छ ।
‘हामीलाई कोरोना अस्थाई अस्पतालकालागी स्थानीय दरवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा करार भर्खर सकिएका डाक्टरलाई नै यता नियुक्त गर्ने भएका छौं । स्टाफ नर्सहरु पनि स्थानीय नै छनौट हुनुभएको छ’ मालिका गाउँपालिका उपप्रमुख खरमायाँ विटालुले भनिन, ‘हामीले त बजार क्षेत्रमा लकडाउन गरी कोरोना संक्रमितको घरदैलो गरी खोजी थालेका छौं ।’
बेनी अस्पताल : उपकरण छ, जनशक्ति छैन
बेनी अस्पतालले कोरोना लक्षित गरी १ करोड २५ लाख खर्चेर २ भेन्टीलेटर सहित सघन उपचार कक्ष (आईसियु) स्थापना गरेपनि जनशक्ति अभावले संञ्चालन हुन सकेको छैन । हालै कोरोना संक्रमित बेनीका एक बृद्धलाई भेन्टीलेटरमा राखी उपचार गर्न बेनी अस्पताल पुर्‍याईयो तर भेन्टीलेटर चलाउने जनशक्ति नभएपछि विरामीलाई हेलिकोप्टरबाट काठमाण्डौ पुर्‍याएपनि बचाउन सकिएन ।
बेनी अस्पतालमा चार महिना अघि नै भेन्टीलेटरसहितको २ बेड, छुट्टै ५ बेडसहितका आईसियु र २० बेड क्षमताको कोभिड अस्पताल संञ्चालन गरिएपनि इन्टरनल मेडिसिन र एनस्थिेसियाका डाक्टर नहुँदा भेन्टीलेटर चलाउन समस्या भएको हो । आईसियु सँगै अस्पतालले छुट्टै अक्सीजन प्लान्ट समेत जोडको छ ।
‘पूर्वाधार मात्र भएर पनि नहुने रहेछ, अख्तियार प्राप्त डाक्टर नहुँदा विरामीलाई सेवा दिन सकेका छैनौं । उपकरण छ, सेवा छैन भन्दा विरामीको आत्मवल घट्ने रहेछ’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘हामी प्रदेश स्वास्थ्य मन्त्रालयमा लडेका छौं । तर सकेका छैनौं ।’
बेनी अस्पताल प्रशासनका अनुसार अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, बरिस्ट रेडियोलोजिष्ट, रेडियोथेरापिष्ट, फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थिेसियालोजिष्ट, पेडियाट्रिसियन (वालरोग), गाईनोलोजिष्ट, अर्थोपेडिक (हाडजोर्नी), साईक्याट्रिक्स (मनोरोग), फिजियो थेरापिष्ट, नसिङ्ग अधिकृत समेत ११ जना विशेषज्ञ (कन्सल्टेन्ट) डाक्टर समेत ६९ जना श्वास्थ्यकर्मीको दरवन्दी रहेको बेनी अस्पतालमा अहिले २ जना मेडिकल अधिकृत समेत २७ जना कार्यरत छन ।