FLASH NEWS
  • Loading...

गुर्जा र लुलाङ वाहेक सवै वस्तीमा सडक पुग्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१२ पटक पढिएको
गुर्जा र लुलाङ वाहेक सवै वस्तीमा सडक पुग्यो

धौलागिरी गाउँपालिका, ४ मुदी र ५ मल्कवाङमा मोटरबाटो जोडिएसँगै जिल्लाका ४५ मध्य ४३ वडा सडक संञ्जालमा जोडिएका छन ।
दशैंसँगै पूर्वाधार विकास कार्यालयले धौलागिरी गापा, ५ मराङबेंशीबाट ४ किलोमिटर ट्याकले वडा नं ५ मल्कवाङ र मुनाबाट ६ किमी परको मुदी वस्ती जोडेसँगै धौलागिरी गापाकै वडा १ गुर्जा र लुलाङ बाहेकका वडामा मोटरबाटोको पहुँच पुगेको हो । धौलागिरी गापा, २ लुलाङको केही क्षेत्रमा मोटरबाटो पुगेपनि विवादको कारण वडा कार्यालय रहेको स्थानमा पुग्न रोकिएको छ ।

‘मुदी र मल्कवाङ असार मसान्तमै सडक जोडिएको भएपनि वर्खाको कारण सवारी चल्न सकेको थिएन, दशैंसँगै सडक सफा गरिएकोले कात्तिकमा मात्र ति गाउँमा सर्वाजनिक सवारी साधन पुगेका हुन’ धौलागिरीका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले भने, ‘लुलाङमा पनि केही सडक निर्माणपछि एलाईमेन्टमा दुई वस्ती विच विवाद भएकोले काम रोकिएको छ, समाधान प्रयास भैरहेको छ, यो वर्ष जोड्छौं ।’ पूर्वाधार विकास कार्यालय म्याग्दीले आव ०७५ देखी सुरुगरी यही दशैंमा पुरा गरेको मराङवेंशी–मल्कवाङ सडक निर्माणमा हालसम्म २ करोड ५२ लाख खर्च भएको छ । कार्यालयको चालु आवको एक करोड २५ लाख बजेटमध्य ७० प्रतिशतले ट्याकको स्तर उन्नत गर्ने र बाँकी ३० प्रतिशत बजेटबाट मल्कवाङहुँदै रघुगंगा गाउँपालिका, ८ कुईने जोड्ने नयाँ ट्याक खोल्ने योजना छ ।

‘जडिबुटी, फलफुल र पशुपालन हाम्रा प्रमुख संभावना भएपनि सवै वडालाई मोटरबाटोले जोड्न पहिलो प्रयत्नमा छौं । सडक संञ्जाल नभै कुनै ब्यवसायलाई ब्यवसायीक बनाउन नसकिने हाम्रो ठहर रह्यो’ धौलागिरी गापा अध्यक्ष थमसरा पुनले भनिन, ‘कार्यकालभित्र वडा नं १ गुर्जाबाहेक सवै वडामा मोटरबाटो र केन्द्रीय विधुत पुर्‍याउनेगरी काम गरिरहेका छौं । दशैंसँगै दुई वटा वडामा हिउँदमा सवारी संञ्चालनहुने गरी सडक पुगेको छ ।’
त्यस्तै साविक विविसको ४२ लाख र राष्ट्रिय योजना आयोगको ४० लाख रुपैयाँबाट मुनाको फलियागाउँबाट ट्याक खोल्न सुरु गरेको मुना–मुदी ६ किलोमिटर अक्करे भीर छिचाल्दै सडक निर्माण गर्न २ करोड ८२ लाख खर्च भएको छ । बाँकी धौलागिरी गाउँपालिकाको खर्चमा गाउँपालिका केन्द्र मुना देखी ४ नम्बर वडा केन्द्र मुदीलाई जोड्न ६ किमी सडक जोडिएको हो ।
मल्कवाङमा मात्र होईन यस पालाको दशैंसँगै दुर्गम मुदी गाउँमा पनि मोटर वाटो जोडिएको छ । तीन वर्षको अक्करे भीरसँग लड्दा लड्दै वल्न मुदीमा मोटर पुगेको हो । गत वर्ष सडक खन्न गएकै डोजर हिड्न नसकेपछि स्थानीयले स्थानीले भीरमा ट्याक खनेर डोजर तारेका थिए । मुदी धौलागिरी हिमाल जाने पदमार्गको अन्तिम वस्ती हो ।
‘एउटा ठूलो सपना साकार भएको छ । यो सडक खन्दा आफन्त पनि गुमायौं । तर पनि यो अक्करे भीर काटेर ६ मिटर चौडा बस गुड्न सक्ने सडक खनेका छौं’ सडक निर्माण समितिका अध्यक्ष २२ बर्षिय विजय घर्तीले भने, ‘भर्खरको केटाले के काम गर्रला र भन्थे, अव अन्य युवालाई पनि आँट र इमानपूर्वक काम गरे सफल भईन्छ भन्ने लागेको छ ।’
चुरेन, गुर्जा र पुथा हिमालको फेदीमा अवस्थित लुकेको वस्ती गुर्जा वस्तीलाई सडकले जोड्ने सुरुङ मार्गको संभावना खोजी थालिएको छ । वडा कार्यालयले यस वर्षदेखी ४० खालको लागतमा गाउँभित्र आन्तरिक सडक निर्माण गरी हेलिकोप्टरमा ट्याक्टर पुर्‍याई सेवा संभव भएसम्मको खण्डमा सेवा पुर्‍याउने योजना गरेको छ ।
सवै स्थानीय तहका मुख्य वस्तीमा मोटरवाटोले जोडिएका भएपनि सदरमुकाम बेनीका करिव ६ किलोमिटर क्षेत्रमा मात्र कालोपत्रे गरिएको छ ।
स्थानीय तहहरुले उपलब्ध गराएको सडकको विवरण अनुसार बेनी–जोमसोम–कोरला ४० किमी समेत जिल्लामा हालसम्म ८ सय ्५० किलोमिटर सडक निर्माण भएको छ । जस अनुसार सवैभन्दाबढी बेनी नगरपालिकामा मुख्य राजमार्ग बाहेक २ सय १५ किलोमिटर, अन्नपूर्ण गाउँपालिकामा राजमार्ग बाहेक १ सय ३५ किलोमिटर, रहुगंगा गापामा राजमार्गबाहेक करिव एक सय किमी, मंगला गापामा १ सय ४५ किमी, मालिका गापामा १ सय २५ किमी, धौलागिरी गाउँपालिकाको अभिलेख अनुसार गापा भित्र जम्मा ७६ किमीर सवैभन्दा थोरै धौलागिरी गापामा ३६ किमी मात्र सडक निर्माण भएको छ ।