FLASH NEWS
  • Loading...

अमेरिकामा एकैदिन एक लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८३ पटक पढिएको
अमेरिकामा एकैदिन एक लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण

अमेरिकामा कोरोना भाइरसको संक्रमणले दिनदिनै रेकर्ड कायम राखेको छ । अमेरिकामा बिहीबार मात्रै कम्तीमा एक लाख २१ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै बिहीबार मात्र एक हजार एक सय ८७ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको यो दोस्रो दिन हो । यसअघि बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको थियो । अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट बुधबार एकैदिन ६ अंकमा संक्रमित भेटिएका हुन् । त्यस्तै बुधबार एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको थियो ।

विज्ञहरुले जाडो सुरु भएसँगै कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइरहेका बेला अमेरिकामा दिनदिन संक्रमणले रेकर्ड कायम गरिरहेको छ। पछिल्लो समय अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण बढिरहेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

नेपाली समयअनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९६ लाख ६ हजार ५ सय २ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ९ सय ११ रहेको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३७ लाख ८१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ८३ लाख ६४ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोनाले एक लाख २४ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने ७७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ८६ लाख नाघेको छ । कोरोनाले विश्वभर १२ लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३ करोड २१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।