FLASH NEWS
  • Loading...

विपद ब्यवस्थापन समितिले गऱ्यो म्याग्दीका १०८६ घरपरिवार स्थानन्त्रण गर्न शिफारिस

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६३ पटक पढिएको
विपद ब्यवस्थापन समितिले गऱ्यो म्याग्दीका १०८६ घरपरिवार स्थानन्त्रण गर्न शिफारिस

जिल्ला विपद ब्यवस्थापन समितिले बाढीपहिरोबाट विस्थापित तथा उच्च जोखिममा परेका जिल्लाका पूर्ण क्षति भएका २ सय ४७ घर र जोखिमयुक्त ८ सय २१ घरलाई सुरक्षिति स्थानमा स्थानन्त्रण गर्नुपर्ने सुझाव समेटिएको छ ।
जिल्लाका पहिरोबाट जोखिमयुक्त ८१ वटा वस्तीका एक हजार ८६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानन्त्रण गर्न समितिको आईतवार सम्पन्न बैठकले स्थानीय, प्रदेश तथा संघिय सरकारलाई सुझाव पठाएको हो । तर समितिले पनि प्रतिवेदनमा घर भत्केका र जोखिममा परेका घर सुरक्षित ठाउँमा स्थानन्त्रण गर्न सुझाव उल्लेख गरेपनि सुरक्षित स्थान र कसरी पुन:स्थापित गर्ने भन्ने कुनै मोडालिटी भने पहिचान गरेको छैन ।
स्थानीय गाउँपालिका, जिल्ला प्रहरी र अन्य निकायबाट स्थलगत प्रतिवेदनलाई जिल्ला विपद ब्यवस्थापन समितिले विश्लेषणगरी तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।

‘हामीले पहिरोबाट प्रभावित र जोखिममा रहेका घर/वस्ती पहिचान गरी देखिएको तथ्यको आधारमा वस्ती स्थानन्त्रणको सुझाव पठाएका हौं । भुगर्भविदको टोलीले भौगोलिक अध्ययनपछि सुरक्षित स्थानको पहिचान गरेपछि मात्र वस्ती स्थानन्त्रणको वाटो खुल्ने हो’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘स्थानीय पहिरो पीडित, गाउँपालिकाहरुको अनुभव पनि समेटेका छौं ।’
आईतवार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद ब्यवस्थापन समितिले पहिरोबाट घरपूर्ण क्षति भै र जोखिममा परेका घरवस्ती पुन:निर्माण गर्दा सुरक्षित स्थानमा स्थानन्त्रण गर्नु पर्ने स्थानिय, प्रदेश तथा संघिय सरकारलाई सुझाव पठाउने निर्णय गरेको हो ।
विपद ब्यवस्थापन समितिले पहिरो पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानन्त्रण गर्न सुझाव पठाएपनि पहिरो अति प्रभावित धौलागिरी गाउँपालिका, ६ मराङका पीडितहरु भने वस्ती वरपर एकिकृत वस्ती राख्न योग्य ठाउँ नभएको र टाढा जान असंभव भएको बताएका छन । त्यसैविच पहिरोमा परिवारका सदस्य समेत सर्वस्व गुमाएका मराङवासीले गाउँ नछाड्ने सामुहिक निर्णय गरेका छन ।

‘वस्नै नहुने वस्ती स्थानन्त्रण गर्ने, वस्ती वसाउन योग्य सुरक्षित जग्गाको पहिचान गर्ने सम्बन्धमा अध्ययन गरिरहेका छौं । प्रभावित क्षेत्रमा सुझाव मागेका छौं’ गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन, ‘स्थानीयले गाउँपालिकालाई पुरानो वस्ती, टोल, भेग र जातिय क्लस्टर नविग्रने गरी वस्ती छेउछाउ सार्न सकिने सुझाव दिएका छन ।’

जिल्ला विपत ब्यवस्थापन समितिको प्रतिवेदनमा धौलागिरी गाउँपालिकाको १५ वस्तीका २ सय ९ घर, मालिका गाउँपालिकाका २२ वस्तीका ३ सय ७५ घर, अन्नपूर्ण गापाको ८ वस्तीका १ सय ३७ घर, मंगला गापामा ९ वस्तीका १ सय घर, रघुगंगा गापामा १५ वस्तीका १ सय ६१ घर र बेनी नगरपालिकामा १२ बस्तीका ८६ घर पुन:निर्माण तथा स्थानन्त्रण गर्नु पर्ने उल्लेख छ ।
स्थानीय तहले उपलब्ध गराएको विवरण अनुसार जेठ–भदौ चार महिनामा बाढीपहिरोबाट जिल्लामा पहिरोले पुरेको/भत्काएर पूर्ण क्षति भएका २ सय ४७ घर छन । त्यस्तै बाढीपहिरोले ८४ वटा खानेपानी योजना, ४६ वटा साना सिंचाई, ३२ वटा कृषी तथा पशुपंक्षी फार्म, ३१ विद्यालय भवन, १७ वटा लघुजलविधुत आयोजना, ८ वटा आमा समुह/सामुदायीक भवन, ७ वटा स्वास्थ्यचौकी, १ वटा वडा कार्यालय पूर्ण/अंशिक्षक क्षति पुगेको छ ।