FLASH NEWS
  • Loading...

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२६ पटक पढिएको
मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् । १ वर्षमा १ हजार उडान हुनेछन् र २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन् ।

मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी स्पेसएक्सले यस्तो योजना सार्वजनिक गरेको हो । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले झण्डै २ दशकदेखि मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ । पछिल्लो जानकारी कम्पनीकी सीओओ गिन्नी शटवेलले टाइम म्यागजिनसँगको कुराकानीका क्रममा बताएकी हुन् ।

शटवेलका अनुसार कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको छ र यसको लागि अहिले स्टारलिंकका स्याटेलाइटहरुलाई अन्तरिक्षमा स्थापित गरिँदैछ । शटवेलका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउनेछन् । यी स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्नेछन् ।

सीओओ शटवेलका अनुसार जब मानिस मंगल ग्रहमा पुग्नेछन् उनीहरुलाई पृथ्वीमा रहेका मानिसहरुसँग कुरा गर्नु पर्नेछ । यो कामको लागि स्टारलिंक स्याटेलाइटको भूमिका अहम हुनेछ । स्पेसएक्सले २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुर्याउने योजना बनाएको छ । कम्पनीको योजनाअनुसार हरेक दिन मंगल ग्रहका लागि ३ उडान उड्नेछन् । हरेक उडानमा १०० जनाले मंगल ग्रहसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसअघि २०१७ मा एलन मस्कले आफूले २०२२ सम्ममा मंगल ग्रहमा २ कार्गो विमान पठाउन चाहेको बताएका थिए । उनले २०२४ सम्म अन्य ४ विमान पठाउन चाहेको समेत बताएका थिए । यी चार फ्लाइटमा २ जना मानिस पनि जाने उनको योजना थियो । स्पेसएक्सले स्टारशिप रकेटमार्फत मानिसलाई मंगल ग्रहमा पठाउन चाहन्छ । अघिल्लो महिना एलन मस्कले रकेट बनाउने काम भइरहेको बताएका थिए । उनले मंगल ग्रहमा बस्ती बसाउनु निकै कठिन हुने र यस क्रममा कैयौं खतरा पनि हुने स्वीकार गरेका थिए ।