FLASH NEWS
  • Loading...

‘रुख घर’ चढेर हिमाल दर्शन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११९ पटक पढिएको
‘रुख घर’ चढेर हिमाल दर्शन

गुल्मीको रेसुङ्गा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’ सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन् ।

एउटा करीब १५ मिटर अग्लो सल्लाका रुखमा विभिन्न प्रविधि र सामग्रीको प्रयोग गरी रुख घर निर्माण गरिएको छ । उक्त घर गत वर्ष भदौ ३ गतेदेखि सञ्चालनमा आएको र निकै चर्चा कमाएको थियो ।

प्रदेश नं ५ सरकारको रु १३ लाख लगानीमा डिभिजन वन कार्यालय, गुल्मीले रुख घर निर्माण गरेको हो । सदरमुकाम तम्घासबाट सात किलोमिटरको यात्रापछि रुख घर पुग्न सकिन्छ । त्यसपछि सल्लाको रुख वरिपरि बनाइएको करिब १० मिटरजति सिँढी अर्थात् भर्‍याङ चढेपछि रुखमै निर्माण गरिएको घरमा पुगिन्छ । उक्त घरबाट जिल्ला सदरमुकाम तम्घासका विभिन्न क्षेत्र, अर्घाखाँची, बाग्लुङ, प्युठानलगायत विभिन्न जिल्ला र हिमशृङ्खला देख्न सकिन्छ ।

रुख घर अवलोकन गर्ने जोकोहीले पनि प्राकृतिक सौन्दर्य र आनन्द लिने गर्छन् । रुख घर अवलोकन गर्नका लागि जिल्लाका विभिन्न स्थानका साथै अर्घाखाँची, बागलुङ, स्याङ्जा, कास्की, दाङ, प्युठान, रुपन्देही, काठमाडौँलगायत जिल्लाका मानिस आउने गरेको रुख घरका व्यवस्थापक घनश्याम पन्थीले जानकारी दिए ।

लकडाउन शुरु भएदेखि भने त्यसरी आउने मानिस ह्वात्तै घटेका छन् । ‘केही समय दैनिक १३ हजारसम्म पनि टिकट बिक्री भयो तर अहिले त सुनसान जस्तै बनेको छ’, उनले भने, ‘कहिलेकाहीँ त शून्य नै हुन्छ, कहिलेकाहीँ भने दैनिक ५० जनासम्म आउनुभएको छ ।’ यदि यही गतिमा पर्यटक नआए सञ्चालन खर्च धान्न पनि मुश्किल पर्ने उनको भनाइ छ ।

लकडाउनअघि ६ महिनाका अवधिमा तीन हजार ८७५ जना र १३ हजार १७० अन्य गरी कुल १७ हजार ४५ जना तथा बन्दाबन्दी भएदेखि चैतदेखि हालसम्म जम्मा एक हजार एक जनाले रुख घरको अवलोकन गरेका छन् । रुख घरमा चढ्नका लागि वृद्धवृद्धाका लागि निःशुल्क, विद्यार्थीका लागि रु १० र अन्य व्यक्तिका लागि रु २० तोकिएको छ । हालसम्म टिकट बिक्रीबाट रु तीन लाख २२ हजार १७० आम्दानी भएको पन्थीले बताए ।

टिकटबाट सङ्कलित रकम मन्दिर व्यवस्थापन समितिले बचत गरेको छ । सिस्नेहार पाताल सामुदायिक, चुमाले उनायचौर सामुदायिक, दीप सामुदायिक वन र उनायचौर खड्गभगवती मन्दिर व्यवस्थापन समितिले घर हेरचाह गरेका छन् । विभिन्न समितिमार्फत रुख घरको व्यवस्थापन र सञ्चालन गरिएको छ । रुख घरको व्यवस्थापनका लागि एक कर्मचारीको व्यवस्था गरिएको छ । रेसुङ्गा नगरपालिका –७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले अब विस्तारै खुकुलो हुँदै गएकाले रुख घरमा पर्यटक आउने क्रम शुरु हुने विश्वास व्यक्त गरे ।

रेसुङ्गा नगरपालिकाले रुख घरको गुरुयोजना बनाउने तयारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पर्यटकीयस्थल रेसुङ्गासँगै घरलाई ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने योजना रहेको बताए । नगरपालिकाका सबै पर्यटकीय क्षेत्रलाई समेटेर रेसुङ्गा परिपथ बनाइने र त्यसैमा रुख घरको विकास गरिने उनको भनाइ छ । hilightstourism.com