FLASH NEWS
  • Loading...

माटोको सहर लोमन्थाङको तातोपानी ओझेलमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३८ पटक पढिएको
माटोको सहर लोमन्थाङको तातोपानी ओझेलमा

अनौठो भुगोल, कलासंस्कृति र मानव सभ्यता विकासको हिसावले महत्वपूर्ण हिमश्रृखलापारी अवस्थित प्राचीन लो राज्यको राजधानी लोमन्थाङ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आर्कषक गन्तब्य हो ।

तर विश्वकै प्रमुख प्रयटकीय गन्तब्य रहेको लोमन्थाङमा रहेको अर्को पर्यटकीय आर्कषण समुद्र सतहदेखी ३ हजार ८ सय मिटर उचाईमा अवस्थित तातोपानीको मुहान भने ओझेलमा छ । गाउँपालिका समेत सरोकारवालको ध्यान नपुग्दा मानव स्वास्थ्यमा लाभ पुर्‍याउने तथा पर्यटन उद्योगको महत्वपूर्ण क्षेत्र तातोपानी संरक्षण विहिन छ ।
‘वस्ती तथा मुल सडकदेखी केही छेउमा पर्ने भएकोले यहाँको तातोपानी ओझेलमा छ । गाउँपालिकाबाट तातोपानीको संरक्षण, ब्यवस्थापन र प्रचार–प्रसारमा काम गर्ने योजनामा राखेका छौं’ लोमन्थाङ गाउँपालिका प्रमुख सुवर्ण विष्टले टेलिफोनमा भने, ‘तातोपानी पोखरीसम्म ट्याक्टर पुग्छन तर गाडी र बाईक चलाउन सकिन्न । गाउँपालिकाले आगामी वर्ष पहुँच मार्ग बनाउने गरी डिपिआर बनाउँदै छु ।’

लोमन्थाङ गाउँपालिका, ५ लोमन्थाङको पुछारमा पर्ने मार्चुङ्ग नजिकै थराङ (धप्पुझ्याङ (तिब्बती खोला) र धप्पुथ्रो (पश्चिमी/लोमन्थाङ खोला)को संगम स्थलमा लोमन्थाङ तातोपानी रहेको छ । स्थानीय भाषमा तातोपानीलाई ‘छुक्कु’ भनिन्छ । लोमन्थाङ छुक्कु (तातोपानी)मा परम्परादेखी नै स्थानीयले नुहाएर स्वास्थ्य लाभ लिने गरेका छन । हाल पनि लोमन्थाङ र वरपरका वस्तीबाट स्थानीयहरु डुब्न र नुहाएर स्वास्थ्य लाभ गर्न जान्छन । साविकको लोमन्थाङ गाउँपालिकाले बनाएको तातोपानी डुब्न गएकाहरु बस्ने घर, पोखरी र कपडा फेर्ने स्थान बनाएको भएपनि अहिले ति संरचना भत्केका छन । पशुचौपाया पोखरीमा आएर पानी खाने गरेका छन ।
‘तल पाईने जस्तो तातोपानी यहाँको होईन तर यहाँको अधिक चिसो हावापानी र अन्य मुलबाट निक्लने पानी अधिक चिसो हुने हुँदो ३० डिग्री सेल्सिएसकै भएपनि तातोपानी हाम्रालागी निक्कै उपयोगी छ । हामी समय समयमा गएर डुब्ने गर्र्छौ’ लोमन्थाङका स्थानीय साङ्वो गुरुङले भने, ‘तातोपानी पोखरी पुग्न पैदल र मोटरवाटो दुवै बाटो आवश्यक छ । पहिलाको पोखरी भत्केको र आश्रय भवन जीर्ण भएकोले संरक्षण गर्न आवश्यक छ ।’

लोमन्थाङवस्तीको पछाडीपट्टी फराकिलो खेतियोग्य फाँट, लुथाङ छ । लुथाङ फाँटको विचैविच तल ध्रुङेत आउँछ । ध्रुङबाट केही ओरालो ओर्लेपछि खङ्वाथ्रुबाट लोमन्थाङखोला (धम्पुथ्रो) तरेपछि पुगिन्छ, थराङ छुक्कु अर्थात तातोपानी । स्थानीय भाषमा थराङ भनेको गाईवस्तुले नुन खाने ठाउँ भन्ने बुझिन्छ ।
स्थानीय भाषामा थराङ भनेको गाईवस्तुले नुन खाने ठाउँ भन्ने बुझिन्छ । यहाँको तातोपानीको वरपार खोलाको किनारामा सेताम्मे नुन टाँसिएको हुन्छ । स्थानीयका भेडा, च्याङ्ग्रा, खोडा, गाई र चौंरीले यही आएर नुन चाट्ने गर्छन ।
लोमन्थाङमा रहेको तातोपानी मुहान म्याग्दी क्षेत्रमा पाईने जस्तो धेरै तातो भने छैन । कुनैपनि पानीको मुल, कुवा, पोखरी, छहरा आदीले तातोपानीको मान्यता पाउन कम्तीमा सो पानी २५ डिग्रि सेल्सियसको हुनु पर्ने मापदण्ड तोकिएको छ । लोमन्थाङको तातोपानी पनि २५ डिग्री सेल्सियस तापक्रमको हो । नेपालमा पहिचान भएका तातोपानीको कुण्डमध्य सवै भन्दाबढी तातो दार्चुलाको श्रीबंगरको ७३, म्याग्दी भुरुङको तातोपानी ७१, र सिङ्गा तातोपानी ५५ डिग्री सेल्सियस छ ।
ग्लोवल वेलनेस इन्स्टिच्युटको सन २०१८ मा प्रकाशित रिपोर्ट अनुसार संसारका १ सय २७ देशमा अनुमानित ३४ हजार ५७ वटा तातोपानीको मुहान/कुण्ड छन । संसारमा तातोपानीबाट १ करोड ५० लाख जनाले रोजगारी पाएका छन । त्यसैगरी तातोपानीका कुण्डमा आउने तातोपानी कुण्डयात्रीबाट ५६ खर्वबढी डलरको आम्दानी हुने गरेको छ ।
रिपोर्ट अनुसार सन २०१७ मा तातोपानीको कुण्ड स्नान गराएर चीन र जापानले सवै भन्दाबढी २० हजार मिलियन डलर आम्दानी गरेका थिए । तयसपछि फिलिफिन्स, भियतनाम, इन्डोनेसियाले तातोपानीको कुण्डबाट आम्दानी गर्छन । नेपालमा मात्र कति तातोपानीका मुहान/कुण्ड छन यकित तथ्याङ्क भेटिएको छैन । म्याग्दी जिल्लामा मात्र कम्तीमा १४ वटा ५०–५८ डिग्री सेल्सियस भएका तातोपानीका मुहान छन । यी मध्य भुरुङ तातोपानी र सिङ्गा तातोपानी बढी चर्चित छन ।