FLASH NEWS
  • Loading...

आविष्कारका निम्ति छुट्टै नीति चाहिन्छ : महावीर पुन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९० पटक पढिएको
आविष्कारका निम्ति छुट्टै नीति चाहिन्छ : महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आविष्कारमा चासो राख्‍ने प्रतिभा संरक्षणका निम्ति छुट्टै नीति, नियम आवश्यक रहेको बताएका छन् ।

आइतबार जनमैत्री क्याम्पसले आयोजना गरेको ‘वाग्मती प्रदेशको शिक्षा नीति २०७७’ मस्यौदाबारे भएको बृहत वेबिनार गोष्ठीमा पुनले आविष्कारमा चासो राख्ने प्रतिभालाई हुर्काउन छुट्टै नीति नियम बन्‍न जरुरी रहेको बताए ।

प्रशासक, शिक्षाविद् तथा शिक्षाकर्मीहरूको सहभागिता रहेको उक्त अनलाइन गोष्ठीमा पुनले व्यक्त गरेको विचार:

‘आविष्कारमा चासो राख्ने प्रतिभालाई हुर्काउन छुट्टै नीति नियम बन्न जरुरी छ । अहिलेको मन्त्रालय, विश्वविद्यालय र तिनका विभागहरू चलाएजस्तो नीति नियमले चाहिँ प्रतिभाशाली सन्ततिहरू हुर्किदैनन् । जबसम्म यो हुँदैन तबसम्म नेपालमा हामीले प्रतिभाशालीहरू राख्न सकिँदैन, ग्यारेन्टीका साथ । प्रतिभाशाली नभएपछि देश समृद्ध हुँदैन । त्यस कारणले मेरो अनुरोध के हो भने प्रतिभाशाली सन्ततिहरूलाई हुर्काउन नीतिगत सम्बोधन हुनुपर्छ ।

उनीहरूलाई किन हुर्काउँने भन्दाखेरी देशलाई समृद्ध बनाउन हो । उनीहरुसँग आइडिया छ । सिर्जनशीलता छ । त्यसलाई क्यास गर्ने हो । कमर्सियलाइज गर्ने हो । कमर्सियलाइज गर्नका लागि त त्यो किसिमको वातावरण चाहिन्छ नि ! त्यसको निम्ति अहिलेको नीति, नियम, अध्ययन, अनुसन्धान चलाउने भन्नु भएको छ तर त्यसरीमात्रै चलाउने हो भने अनुसन्धान केन्द्र प्रोडक्टिभ (उन्नतशील) हुँदैन । अथवा जति त्यसबाट फाइदा आउनु पर्ने हो, अति न्युनतम फाइदामात्र आउँछ ।

यो कुरा मैले भन्ने कुरा हो । किनभने अहिले हामीले राष्ट्रिय आविष्कार केन्द्रमा यही गरिरहेका छौं । यो केन्द्रमा त्यो प्रतिभाशालीहरूलाई हुर्काउने थलो बनाएका छौं । यो प्ल्याटफर्म हो । यो हुर्काउनको लागि हामीले त्यो आईडिया भएको मान्छेहरूलाई आह्वान गर्छौं । जुनसुकै पनि समयमा कुने समय सीमा छैन । चौबीसै घण्टा खुल्छ । यहाँ शुक्रबार, शनिबार सार्वजनिक बिदा भन्ने हुँदैन । जुनसुकै समयमा जसलाई जे गर्न मन लाग्यो, त्यो गर्न पाउँछ । कुनै चिज सिर्जना गर्नुपर्दा चाहिने आवश्यक सहयोग ‘मलाई यस्तो चिज चाहियो’ भनेपछि उसले तत्कालै पाउँछ ।

यस्तो कुराहरूमा मन्त्रालयको कुनै पनि काम गर्ने प्रक्रियाअनुसार लैजाने हो भने यो सिर्जनशील सन्ततिहरू छन्, उनीहरू टिक्दैनन् । यस्तो किसिमको अध्ययन, अनुसन्धान, इनोभेसन भन्ने कुराहरू गर्नको लागि चाहिं छुट्टै नीति, नियम चाहिन्छ ।

शिक्षा मन्त्रालयअन्तरगत नै यस्तो एकेडेमिक इन्स्टिच्युटहरू चलाउने छुट्टै नीति नियम बनाउनु होस् । इनोभेसन गर्नेहरूलाई कसरी सञ्चालन गर्ने, इनोभेसनका कामहरू सञ्चालन गरेर कमर्सियलाइज गरेर देशको आर्थिक विकासमा टेवा पुर्‍याएर देशलाई समृद्ध तुल्याउने भन्नेतिर पालनपोषण गर्ने नीति नियम छुट्टै बनाउनु पर्छ । तपाईंहरूले प्रदेश सरकारले छुट्टै आविस्कार केन्द्र खोल्नु पर्छ भनेर लाग्नु भएको छ । तर जे खोल्नु हुन्छ, अहिलेकै प्रक्रियामा प्रशासनिक कामहरू गर्नु भएको छ । त्यही नीति निमयमले चलाउनु भयो भने त्यसको प्रतिफल निस्किदैन ।

तपाईंहरू जो नीति निर्माता, विज्ञहरू हुनुहुन्छ । तपाईँहरूले नयाँ नीति नियम बनाउनु होस् । त्यसमा प्रतिभाशालीहरू समेटिने र प्रतिभाशालीहरूलाई हुर्काउने किसिम नियम चाहियो । त्यसबाट देशको विकास हुन्छ । समय लाग्न सक्छ । नत्र जस्तोसुकै नीति नियम बनाएर जतिसुकै हाई क्लासको (उच्च तहको) युनिभर्सिटीहरू खोल्नुहोस् । त्यो चाहिं अर्कालाई खान पकाएर ठिक्क पारेजस्तो हुन्छ । यहाँ बस्ने वातावरण भएन भने प्रतिभाशालीहरू वर्ल्ड क्लास युनिभर्सिटीहरूमा जान्छन् । अरुलाई फाइदा हुन्छ ।’ source-ekantipur.com