FLASH NEWS
  • Loading...

चारसय खानी उत्खनन तथा खोजतलास अनुमति

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११९ पटक पढिएको
Post Thumbnail

सरकारले आर्थिक वर्ष २०७६/०७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ। खानी तथा भूगर्भ विभागले आव २०७६/०७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो।

त्यसमध्ये १४९ लाई उत्खनन र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुईलगायत छन्।

यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ। विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् ।

“आव २०७४/०७५ र आव २०७५/०७६ को तुलनामा आव ०७६/०७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ”,उनले भने। आव २०७४/०७५ मा १२६ र आव २०७५/०७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो।

विभागले आव २०७६/०७७ मा ८४ करोड ७३ लाख ४८ हजार रुपैयाँ र अघिल्लो आवमा ७७ करोड तीन लाख रुपैयाँ राजश्व आम्दानी गरेको थियो।