FLASH NEWS
  • Loading...

चीनबाट पनि आउन थाल्यो ‘छ्याङ’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९१ पटक पढिएको
चीनबाट पनि आउन थाल्यो ‘छ्याङ’

परम्परागत मदिरा ‘छ्याङ’मा नेपाल आत्मनिर्भर भए पनि बर्सेनि करोडभन्दा बढीको आयात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय सिमानाका तथा हवाई आगागमन बन्द हुँदा पनि यो वर्ष ३८ लाख रूपैयाँभन्दा बढीको छ्याङ आयात भइसकेको छ।

गत आर्थिक वर्ष २०७६/७७ को जेठ महिनासम्ममा नेपालमा झण्डै २६ हजार लिटर छ्याङ आयात भएको छ। त्यसको मूल्य ३८ लाख रूपैयाँभन्दा बढी हुने भन्सार विभागका निर्देशक तथा सूचना अधिकृत शिशिर घिमिरेले जानकारी दिए।

“पछिल्लो ४ महिनादेखि कोरोना भाइरसको महामारीका कारण आयात प्रक्रिया पूरै बन्द छ। यो समयमा सामान आउन पाएको छैन। त्यसैले छ्याङको आयात यो वर्ष केही कम देखिएको हुन सक्छ,” घिमिरेले भने।

२०७५/७६ को तथ्याङ्कले घिमिरेको यो भनाइलाई थप पुष्टि गर्छ। आर्थिक वर्ष २०७५/७६मा विदेशबाट एक करोड २७ लाख ९४ हजार रूपैयाँ बराबरको छ्याङ आयात भएको थियो।

छ्याङकै शीर्षकमा आर्थिक वर्ष २०७४/७५ सालदेखि आयात सुरु भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। उक्त आर्थिक वर्षमा ९ लाख रुपैयाँ बराबरको ६ हजार ३०७ लिटर छ्याङ आयात भएको थियो। त्यसअघि नेपालमा औपचारिकरूपले छ्याङ आयात भएको देखिँदैन।

चीनबाट पनि आउन थाल्यो छ्याङ

नेपालमा पहिलोपटक छ्याङ दक्षिण कोरियाबाट आएको थियो। तर, नेपालको परम्परागत मदिरा उत्पादनको सिको अब चीनले पनि गर्न थालिसकेको छ।

गत वर्षबाट नेपालले छ्याङ आयात गर्ने देशको सूचीमा दक्षिण कोरियासँगै छिमेकी चीन पनि थपिएको छ।

यसपटक आयात गरिएकोभध्ये ११ लाख रूपैयाँ बराबरको छ्याङ चीनबाट आएको थियो।  news source – dekhapadhi.com