FLASH NEWS
  • Loading...

काँग्रेसमा विवादः देउवाले गरेको मनोनयनमा पौडेल समूहको उजुरी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५१ पटक पढिएको
काँग्रेसमा विवादः देउवाले गरेको मनोनयनमा पौडेल समूहको उजुरी

महाधिवेशनमा होमिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा विवाद चर्किने देखिएको छ। सभापति शेरबहादुर देउवाले आगामी फागुनमा हुने पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी नियुक्तिहरु गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको निर्वाचन समितिमा लिखित उजुरी गरेको छ। यो उजुरीसँगै महाधिवेशनको मिति तोकिएपछि साम्य भएको काँग्रेसको विवाद फेरि बल्झिने देखिएको हो।

बिहीबार काँग्रेस निर्वाचन समितिमा नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले सभापति देउवाले महाधिवेशन प्रभावित पार्ने गरी पार्टीमा नियुक्तिहरु गरेको भन्दै उजुरी दिएका छन्।

नेता पौडेलले पटक पटक मौखिक रुपमा सभापति देउवालाई नियुक्तिहरु नगर्न भने पनि नमानेकाले उजुरी दिन बाध्य भएको बताएका छन्। नेता पौडेलले डिसी नेपालसँग भने, ‘पार्टीको विधानअनुसार महाधिवेशन भएको ६ महिनात्रि गरिसक्नुपर्ने नियुक्ति उहाँ (देउवा)ले गर्नु भएन। अहिले पार्टी महाधिवेशनमा गइसकेपछि धमाधम नियुक्तिहरु गरिरहनु भएको छ। यो त विधान विपरित र आचारसंहिताको उल्लंघन हो।’

यसरी लिखित उजुरी दिनुभन्दा एकदिन अगाडि बुधबार पौडेल समूहको छलफल भएको थियो। बुधबार अनमाननगरमा देउवा इतर समूहको छलफल भएको थियो। सो छलफलमा सभापति देउवा महाधिवेशन प्रभावित पार्ने गरी अगाडि बढेको निश्कर्ष निकालिएको थियो। पौडेलले भने, ‘हामीले हिजो (बुधबार) सभापति जीका गतिविधिबारे छलफल गरेका थियौं। सोही छलफलको निश्कर्षपछि आज (बिहीबार) निर्वाचन समितिमा लिखित उजुरी दिएका हौं।’

पार्टीको महाधिवेशन मिति तोकिसकेपछि सभापति देउवाले पार्टीका विभाग गठन गरेका छन् भने विभिन्न रिक्त पदहरुमा पनि नियुक्ति गरिरहेका छन्। आगामी महाधिवेशनमा देउवा र पौडेल समूहबीच प्रष्पिर्धा हुने अनुमान छ।