FLASH NEWS
  • Loading...

इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८३ पटक पढिएको
इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र दर्जनौँ अमेरिकी अधिकारीविरुद्ध जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।

साथै इरानले अमेरिकी राष्ट्रपति ट्रम्पलगायतको पक्राउमा सहयोग गर्न इन्टरपोलसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तेहरानका अभियोक्ता अली अलाकसिमेरका अनुसार सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पसहित अन्य ३० जनाविरुद्ध गत जनवरी ३ मा भएको आक्रमणमा जर्नेल कासिम सुलेमानीको हत्याका साथै हत्या र आतंकवादी गतिविधि गरेको अभियोग लगाइएको छ । अलीले ट्रम्पबाहेक कस–कसलाई आरोप लगाइएको हो भन्नेबारेमा केही खुलाएका छैनन् । उनले ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिएपछि पनि कानुनी कारबाहीका लागि इरान लड्ने बताए ।
इरानका लागि अमेरिकी दूत ब्रायन हूकले भने इरानी कदमलाई ‘प्रचारबाजी फन्डा’ को संज्ञा दिएका छन् । ‘इन्टरपोलले राजनीतिक प्रकृतिका विषयमा हस्तक्षेप गर्दैन र रेड नोटिस जारी गर्दैन भन्ने हाम्रो ठम्याइ छ,’ अमेरिकी दूत हूकले साउदी अरबमा भएको पत्रकार सम्मेलनमा भने । ‘यो विषय राजनीतिक प्रकृतिको रहेको छ । राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको प्रवर्द्धनमा यसको कुनै सम्बन्ध छैन । यो केबल प्रचारबाजी र फन्डा मात्रै हो । यसलाई कसैले पनि गम्भीरताका साथ लिँदैनन्,’ हूकले भने ।
तेहरानका अभियोक्ता अलीले भने अमेरिकी राष्ट्रपति ट्रम्प र अन्यविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलसँग आग्रह गरेको दाबी गरेका छन् ।
फ्रान्सको लियोनमा रहेको इन्टरपोलले भने इरानको आग्रहलाई विचार नगर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । इन्टरपोलले आफूलाई राजनीतिक, सैन्य, धार्मिक र नश्लीय प्रकृतिको चरित्रका गतिविधिमाथि कारबाही गर्ने अधिकार नभएको बताउँदै इरानको आग्रहमाथि केही नगर्ने बताएको छ ।
राजनीतिक विश्लेषकहरुले इरानले पक्राउ पुर्जी जारी गर्नु एउटा सांकेतिक प्रतिक्रियाभन्दा केही बढी मात्रै भएको बताएका छन् । तर यसले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति इरानको वैरभाव निकै बढेको देखिने उनीहरुले बताएका छन् ।