FLASH NEWS
  • Loading...

डब्ल्युएचओसँग सबै किसिमको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६८ पटक पढिएको
डब्ल्युएचओसँग सबै किसिमको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

विश्व स्वास्थ्य संगठनसँग असन्तुष्ट बन्दै आएको अमेरिकाले सबै प्रकारको सम्बन्ध तोडेको घोषणा गरेको छ ।
ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै डब्ल्युएचओसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो ।
ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो । अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन् । ट्रम्पको यस कदमलाई उहाँको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ ।
कोरोना भाइरसको महामारी सबैभन्दा पहिला चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारीले विश्वव्यापी रूप लिइसकेको छ । हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको पहिलो नम्बरमा छ ।
अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहँदै आएको थियो । संगठनको कुल बजेटको झण्डै १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको थियो । नयाँ निर्णयले दुबैपक्षको सन् १९४८ मा जोडिएको सम्बन्धमा विराम लगाइदिएको छ ।
ट्रम्पको यो निर्णय चिनियाँ राष्ट्रपति सि जिङपिङले गत साता आगामी दुई वर्षमा कोरोना महामारीसँग लड्न डब्ल्युएचओलाई दुई बिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेपछि आएको हो । चीनले घोषणा गरेको यो रकम झण्डै विश्वस्वास्थ्य संगठनको गत वर्षको बजेट बराबर हुन आउँछ ।
हाल विश्व स्वास्थ्य संगठनमा विश्वका १९४ राष्ट्र आबद्ध छन् । विश्व स्वास्थ्य संगठनले पछिल्लो अमेरिकी कदमबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।