FLASH NEWS
  • Loading...

भारतमा रेल खुल्यो, अब नेपालमा यसरी बढ्न सक्छ जोखिम

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७४ पटक पढिएको
भारतमा रेल खुल्यो, अब नेपालमा यसरी बढ्न सक्छ जोखिम

भारतमा करीब सात हप्तापछि आजदेखि रेल्वे सेवा पुनःसञ्चालनमा आएको छ। लकडाउनमा रहेको भारतमा रेल सञ्चालन भएपछि लकडाउनमै रहेको नेपालमा खास चासो नहुनुपर्ने हो। तर, त्यसले नेपालमा ह्वात्तै चासो बढाइदिएको छ। किनभने, नेपाल फर्कन आतुर भारतमा रहेका दुई लाखभन्दा बढी नेपाली अब रेल चलेसँगै नेपाल आउन कस्सिनेछन्। र, अहिले भारतसँगका सीमानाकामा आवतजावतमा रोक लगाइए पनि उताबाट बढेको नेपालीको चाप थेग्न नसक्दा लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तीब्र छ। अब त्यो झन् बढ्नेछ र सँगसँगै संक्रमणको जोखिम पनि।
यसअघि भारतका विभिन्न ठाउँबाट सीमानामा आइपुगेकाहरू रोक्दारोक्दै पनि लुकिछिपी नेपाल भित्रिने क्रम गरेका थिए। अब रेल सेवा नै खुलेपछि भारतका धेरै ठाउँमा रहेका नेपाली आउनेछन्। रेल सीमानजिकका शहरमा नआइपुग्ने भए पनि नेपालीको ठूलो संख्या सीमातिर सोझिनेछ। जस्तो कि, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्कन चाहने नेपालीलाई हरहालतमा सीमानासम्म पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
सीमानाकासम्म आइपुग्ने नेपालीलाई व्यवस्थित तरिकाबाट नेपाल ल्याइएन भने उनीहरू पूर्ण निगरानी हुन नसकेको सीमाबाट लुकिछिपी नेपाल भित्रिनेछन्। र, उनीहरूसँगै भाइरस पनि भित्रिएको रहेछ भने त्यसले संक्रमण ह्वात्तै बढाउनेछ। अहिले नै त्यसरी लुकिछिपी आएका व्यक्तिबाट कपिलवस्तु, रूपन्देही, पर्सा, उदयपुर, बाँकेलगायतका जिल्लामा संक्रमण डरलाग्दो रूपमा बढ्न थालिसकेको छ।
यो जोखिम धेरै किन पनि छ भने पछिल्लो समय भारतमा कोभिड–१९ को संक्रमण तीब्र बनेको छ। आजसम्मको आँकडा अनुसार भारतमा कोभिड १९ बाट संक्रमित संख्या ७१ हजार नाघिसकेको छ। भारतमा नेपालीको बसोबास धेरै रहेका क्षेत्रमै संक्रमण उच्च देखिएको छ।
उदयपुरको भुल्केमा देखिएका संक्रमित र त्यसपछि रौतहट, पर्सा, कपिलवस्तु र रूपन्देही लगायतका जिल्लामा देखिएका संक्रमित व्यक्तिहरू भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए। आज मात्र कपिलवस्तुमा भेटिएका ८ जना संक्रमितमध्ये सातजना भारतको मुम्बईबाट आएको र उनीहरू लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ।
भारतबाट लुकिछिपी आउने क्रम अझै रोकिएको छैन। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे भन्छन्, “नेपालमा संक्रमित देखिएका अधिकांश व्यक्ति भारतबाटै नेपाल आएका हुन्।”
सीमामा बढ्न सक्ने जोखिमबारे सरकार बेखबर नरहे पनि बढ्दो जोखिमलाई व्यवस्थापन र नियन्त्रण कसरी गर्ने भन्नेतिर कुनै तयारी भने गरेको देखिन्न। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार सरकारले अहिलेसम्म सीमानाका बन्द गरेर कडाइ मात्र गर्दै आएको छ। उनले भने, “भारततिर रहेका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने र नेपालमा रहेका भारतीयको नेपाल सरकारले व्यवस्थापन गर्न अनुरोध गरिएको छ।”
भारतबाट पहिले भन्दा बढी संख्यामा नेपाली भित्रिन सक्ने सम्भावनाबारे परराष्ट्र मन्त्रालय पनि अनभिज्ञ छैन। मन्त्रालय श्रोतले भन्यो, “सीमामा हिजो पनि समस्या नै थियो, लुकिछिपी आएकै हुन्। भारतमा रेल सञ्चालनमा आउँदा यो क्रम अझ बढ्छ, यो सबैले बुझेकै कुरा हो।”
सीमावर्ती क्षेत्रका भारतीय क्वारेन्टाइनमा नेपालीलाई राम्रोसँग खान र बस्न नदिइएका समाचार छ्याप्छ्याप्ती आउन थालेका छन्। नेपालमा रहेका क्वारेन्टाइनमा भारतीय श्रमिकलाई आवश्यक सामग्रीसहित राखिए पनि भारतीय पक्षले भने अब राख्न नसकिने भन्दै आफ्नै देश जान दबाब दिनथालेको तराईको जिल्लामा कार्यरत एक प्रहरी उपरीक्षकले बताए।
सीमामा आइपुगेका नेपालीलाई सीमानाका ठप्प पार्ने नाममा त्यहीँ बिचल्लीमा पारेर लुकिछिपी आउन दिने र झन् जोखिम बढाउने कि व्यवस्थित तरिकाले नेपालमा ल्याएर निगरानीमा राख्ने भन्ने प्रश्न टड्कारो बनेको छ। परराष्ट्र मन्त्रालयमा संकलन गरिएको तथ्यांक अनुसार भारतमा रहेका करीब २ लाख ५० हजार नेपाली र अन्य मुलुकमा रहेका ३ लाख नेपालीले देश फर्कन चाहेको बताएका छन्।
जनस्वास्थ्य विज्ञहरू बाहिर रहेका नेपालीलाई सुरक्षित र व्यवस्थित तरिकाले स्वदेश फिर्ता ल्याउनु सरकारको दायित्व पनि भएको बताउँछन्।
जनस्वास्थ्य विज्ञ डा. सुजन मरहठ्ठाले भारत लगायतका अन्य मुलुकबाट नेपाली आउँदा समस्याको नयाँ चरण शुरू हुने भएकाले त्यसको तयारी गर्नुपर्ने बताए। उनीहरू नेपाल भित्रिँदा वा नेपाल ल्याउँदा संक्रमण बढ्छ भन्नु भन्दा पनि उनीहरूलाई कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्ने तयारीमा सरकार लाग्नुपर्ने उनको भनाइ छ। सरकारले सबभन्दा पहिले व्यवस्थित र गुणस्तरीय क्वारेन्टाइन बनाउने, उनीहरूको पीसीआर परीक्षण अनिवार्य गर्ने, जनचेतना जगाउने र त्यसका लागि आफूसँग भएका सबै श्रोत साधन परिचालन गर्नेगरी काम गर्नुपर्ने उनले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल