FLASH NEWS
  • Loading...

डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न ट्रम्पको निर्देशन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०३ पटक पढिएको
डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न ट्रम्पको निर्देशन

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलनबाट रोक्न डब्लुएचओले आधारभूत कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाउँदै दिँदै आएको सहयोग रोक्न निर्देशन दिनु भएको हो ।

चीनबाट जति बेला कोरोना भाइरस फैलन सुरु भएको थियो त्यसैबेलादेखि संयुक्त राष्ट्रको यो संगठन त्यसलाई व्यवस्थापन गर्न असफल भएको र वास्तविक तस्बिरलाई लुकाउँदै आएको ट्रम्पले आरोप लगाउनु भएको छ ।

उहाँले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताउनु भएको छ । डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ।

‘मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु । विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र नराम्रो व्यवस्थापनको समीक्षा गरिनेछ’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो । ‘डब्लुएचओ आफ्नो आधारभूत जिम्मेवारी बहन गर्न असफल भएको छ र यसका लागि उसलाई जवाफदेही बनाउनुपर्छ’, उहाँले थप्नु भयो ।

अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो । गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो । यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो ।

हाल अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश बनेको छ । त्यहाँ हालसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख मानिस संक्रमित भइसकेका छन्। एजेन्सी ।