FLASH NEWS
  • Loading...

१०५ देश पुग्यो कोरोना भाइरसको संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
१०५ देश पुग्यो कोरोना भाइरसको संक्रमण

सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि चीनको वुहान शहरबाट फैलिन थालेको नोबेल कोरोना भाइरसको संक्रमण चीनसहित १०५ देशमा पुगेको छ।
विश्व स्वास्थ्य संगठनले २६ फागुन साँझ सार्वजनिक गरेको ‘स्थिति प्रतिवेदन’ अनुसार संक्रमणबाट तीन हजार ८०९ जनाको मृत्यु भइसकेको छ। एक लाख ९ हजार ५७७ जना यसबाट संक्रमित भएका छन्।
सबैभन्दा बढी चीनमा ८० हजार ९०४ जना संक्रमित भएकोमा तीन हजार १२३ जनाको मृत्यु भएको छ। त्यस्तै, चीन भन्दा बाहिर २८ हजार ६७३ जनामा संक्रमण फेला परेको छ भने ६८६ जनाको निधन भएको छ।
चीनपछि सबैभन्दा बढी इटालीमा ३६६ जनाको मृत्यु भएको छ। त्यसपछि इरानमा १९४, दक्षिण कोरियामा ५१, फ्रान्समा १९ र अमेरिकामा ११ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यसैगरी, स्पेनमा १० जना र जापानमा सात जनाको मृत्यु भएको छ।
२६ फागुनमा अध्यागमन विभागले कोरोना संक्रमण धेरै फैलिएका देशहरू चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपालमा अन-अराइभल भिसा दिन रोक्ने निर्णय गरेको छ। हालसम्म नेपालमा एक जनामा नोबेल कोरोना भइरसको संक्रमण पुष्टि भएकोमा उनी निको भइसकेको सरकारले जनाएको छ। युनाइटेड अरब इमिरेट्समा कार्यरत दुई जना नेपालीलाई संक्रमण पुष्टि भएको २६ फागुनमा त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।