FLASH NEWS
  • Loading...

वैकल्पिक विद्यालयमा आमाको आकर्षण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९३ पटक पढिएको
वैकल्पिक विद्यालयमा आमाको आकर्षण

सदरमुकाम बेनीको पश्चिम म्याग्दी खोला किनारामा अवस्थित छ, उज्यालो वैकल्पिक विद्यालय ।

चार बर्ष अघि स्थापना गरिएको विद्यालयमा बेनी नगरपालिका, ३ भकिम्लीकी दिलमायाँ पुन वैकल्पिक विद्यालयमा अध्ययनरत जेठी विद्यार्थी हुन । पुन मात्र होईन, पर्वतको जलजला गाउँपालिका, ३ वारीवेनीकी रेनु मल्ल (६० बर्ष), मालिका गाउँपालिका, ७ की तुलकुमारी मल्ल (५० बर्ष), बेनीका लालकुमारी सापकोटा (५३ बर्ष) र भुलमायाँ तिलिजा (५६ बर्ष), राधिका आचार्य (६० वर्ष) र देवी सुवेदी (४३ बर्ष) उज्यालो विद्यालयमा अध्ययनरत छन । देवी सुवेदी दैनिक १ घन्टा हिँडेर विद्यालय आउँछिन ।

‘उज्यालो स्कुलमा ४ बर्ष अघि ३ कक्षामा भर्ना भएकी थिए, अहिले ८ कक्षामा उक्लेकी छु । पहिला कखरा मात्र जानेकी थिएँ, अहिले सामान्य अँग्रेजी जानेकी छु, क्याल्कुलेटरबाट भागा, गुणनका हिसाव पनि गर्छु । कम्प्युटरमा आफ्नो नाम टाईप गर्न पनि सिकेकी छु’ जललजा गापा, ३ मल्लाजपर्वतबाट पढ्न आएकी रेनु मल्लले भनिन, ‘उमेरमा पढ्न पाईएन । छोराछोरी उर्केपछिको फुर्सदमा पढ्ने धोको मेट्दैछु । बेलुका विहान साना नातीनातिनालाई पढाउने भा छु ।’

आमाहरु अहिले नेपाली, अँग्रेजी, गणित विषय पढ्दै, लेख्दै कम्प्युटर चलाउन सिक्न थालेका छन । विद्यालयमा कक्षा १ देखी ९ सम्म सानो उमेरमा औपचारिक शिक्षा लिन नपाएका ६८ जना गृहणीहरु अध्ययनरत छन । साविक शिक्षा कार्यालयको विद्यालय क्षेक्र विकास कार्यत्रम अर्न्तगत ०७३ देखी बेनीमा उज्यालो वैकल्पिक विद्यालय खुलेको हो ।

औपचारिक शिक्षाबाट वन्चितमा परेका वयस्कलाई शिक्षाको मुलधारमा ल्याउन समुदायको सकृयतामा खुलेको उज्यालो वैकल्पिक विद्यालयमा अहिले ९ कक्षा सम्मको कक्षा संञ्चालन भैरहेको छ ।

इच्छा शक्ति भए पढ्न उमेरले पढ्न छेक्दैन भन्ने गज्जवको उदाहरण हो, उज्यालो वैकल्पिक विद्यालय, बेनी । नियमित विद्यालयबाट औपचारिक शिक्षा लिने अवसरबाट छुटेका १५–६० बर्ष समुहका ६८ जना आमाहरु उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत छन ।

विद्यालयमा अक्षर चिन्न गएका (पहिलो तह)मा, तीन कक्षा पढ्दै विद्यालय छोडेका (दोस्रो तह)मा, ५ कक्षासम्म पढेर विद्यालय छोडेका (तेस्रो तह)मा राखेर अध्यापन गराउने गरिएको छ । वयस्कको अनुभव र ज्ञानका आधारमा छोटो र फरक शैलीमा अनौपचारिक पढाईबाट औपचारिक ज्ञान पाउने पाठ्यक्रम छ ।

‘कखरा, एविसी र हिसावका जोड घटाउ त सिकें । यो हिसावमा भाग गर्ने र गुणन गर्ने अप्ठ्यारो लाग्यो’ कक्षा तीनमा अध्ययनरत ७० बर्षिया दिलमायाँ पुनले सुनाईन ।

वैकल्पिक विद्यालयमा तह ४ उत्तिर्ण गरे कक्षा ८ र पाचौं तह क उत्तिर्ण गरे कक्षा ९ र ‘ख’ उत्तिर्ण गरे एसईई परिक्षामा सहभागी हुन योग्य मानिन्छन । विद्यालयमा अहिले कक्षा १, ३, ५, ७, र ९ कक्षा संञ्चालनमा छ ।

‘विद्यार्थीको माग अनुसार नै ५ कक्षा माथीका आमा विद्यार्थीलाई कम्प्युटर विषयको आधारभुत कुरा पढाउन थालेका छौं’ विद्यालयकी शिक्षिका सुजता खत्रीले सुनाईन ।

साविक शिक्षा विभागले अनौपचारिक कक्षा तर्फ तह तीन सम्मको पाठ्यक्रम विकास गरे पनि कक्षा ८ र ९ लाई भने पाठ्यक्रमसमस्या छ । पाठ्यक्रम नपाएपछि विद्यालयले

नियमित विद्यालयका पाठ्यपुस्तकबाट अनुकुल पाठ्यक्रम तयार पारी अध्यापन गराउँदै आएको छ ।

बेनी सामुदायिक माध्यामिक विद्यालय अर्न्तगत स्थापित विद्यालय हाल साविकको महिला विकास कार्यालयमा संञ्चालन गरिएको छ । विहान ११ बजेदेखी ३ बजेसम्म नियमित कक्षा संञ्चालन गर्ने विद्यालयको नियमित कक्षा संञ्चालन गर्न ५ जना शिक्षक नियुक्त गरिएको छ ।

विद्यालय संञ्चालन गर्न तलवभत्ता र दैनिक प्रशासनीक खर्च मात्र बार्षिक १२ लाखबढी छ । ३–४ लाखसम्म बेनी नगरपालिका/वडा कार्यालयले अनुदान दिएका छन । बाँकी चन्दा मागेरै विद्यालय चलेको छ ।

‘विद्यालयलाई साविकको महिला बालबालिका कार्यालयमा स्थानन्त्रण गरिएकोले घरभाडा जोगिएको छ । विभिन्न ब्यक्ति र संघसंस्थाबाट सहयोग मागेका छौं’ विद्यालय संञ्चालक समितिका उपाध्यक्ष एव आर्थिक संयोजक राजेश शाक्यले भने, ‘प्रदेश तथा स्थानीय सरकारले नै विद्यालयलाई छुट्टै बजेट ब्यवस्था गर्नु आवश्यक छ ।  चन्दा मागेरै चलाउने ?’