FLASH NEWS
  • Loading...

काेराेना भाइरस संक्रमणकाे त्रासले नेपालकाे पर्यटन प्रभावित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३२७ पटक पढिएको
काेराेना भाइरस संक्रमणकाे त्रासले नेपालकाे पर्यटन प्रभावित

कोरोना भाइरसका कारण नेपालमा आउने हवाई यात्रुको संख्यामा कमी आएको छ । चीन सरकारले नै आफ्ना नागरिकलाई सकेसम्म अन्य देशमा नजान आग्रह गरेकाले नेपाल आउने चिनियाँ नागरिकको संख्यामा कमी आएको हुन सक्छ ।
चीनमा फैलिएको कोरोना भाइरसका कारण पोखरामा पनि त्रास बढेको छ । चिनियाँ पर्यटकको बढी चहलपहल हुने रेस्टुरेन्ट तथा होटलमा सतर्कता अपनाइएको छ । सतर्कता अपनाउँदै मास्क लगाएरै पर्यटकलाई सेवा दिँदै आएको चिनियाँ रेस्टुरेन्ट चान तासीमा कार्यरत निसाना थापा मगरले बताइन् ।
रेस्टुरेन्ट सञ्चालक चान उइलिनले कोरोना भाइरसका कारण चिनियाँ पर्यटकको आगमन प्रभावित भएको सुनाए । लेकसाइडमा २३ वटा रेस्टुरेन्ट र चार होटलमा चिनियाँ व्यवसायीको लगानी छ । ८० प्रतिशत ग्राहक चिनियाँ नै हुन् । बाँकी २० प्रतिशत नेपाली र अन्य मुलुकका पर्यटक हुने गरेको उनले सुनाए । चिनियाँलाई लक्ष्य गरी सञ्चालित व्यवसाय समस्यामा पर्ने अवस्था रहेको उनको भनाइ छ ।
जनवरी २५ देखि फेब्रुअरी ७ सम्म २ सय चिनियाँले कोरोनालाई कारण देखाएर बुकिङ रद्द गरेको ड्रागन होलिडे ट्राभल्सका सञ्चालक पुष्करराज पाठकले बताए । उनका अनुसार जनवरी २५ देखि तीन महिनासम्मका लागि १ हजारभन्दा बढीले बुकिङ रद्द गरेका छन् ।
विमानस्थलमा भाइरस जाँच कक्ष
प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबार पोखरा विमानस्थलमा कोरोना भाइरस जाँच कक्ष स्थापना गरेका छन् । ‘अहिले सामान्य लक्षण जाँच हुन्छ’, निर्देशनालयका अधिकृत होगेन्द्र भुर्तेलले भने, ‘आवश्यक परे रगत पनि जाँच गर्नेछौं ।’
उनले पोखरामा कोरोना रोकथाम गर्न सकिने तर उपचारमा कठिना हुने बताए । विदेशबाट आएकाहरूको उपस्थिति बढी हुने भएकाले विमानस्थमा सहायता कक्ष राखिएको उनले सुनाए । उनका अनुसार लेकसाइडमा पनि आइतबार सहायता कक्ष राखिनेछ । जाँच कक्षमा स्वास्थ्यकर्मी र उपकरणको प्रबन्ध गरिएको छ ।
पोखरामा कोरोनाको लक्षण भने भेटिएको छैन । कोरोना थाहा पाउन रगत जाँच्ने किट भने अभाव छ । शंका लागे जाँच्नका लागि काठमाडौं पठाउने तयारी यहाँका स्वास्थ्य संस्थाले गरेका छन् ।
स्वास्थ्य अधिकारीले कोरोना रोकथाममा लाग्न तर नआत्तिन अपिल गरेका छन् । ‘प्रदेशका सबै स्वास्थ्य संस्थामा कोरोना भाइरसका बिरामीका लागि उपचारको प्रबन्ध गर्न सबैतिर पत्राचार भएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीलाई पनि उपचारमा सजग रहन भनिएको छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएका कतिपय चिनियाँ नयाँ वर्ष मनाउन गएकोमा अझै फर्किएका छैनन् । विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार चीनबाट फर्किएका एक जनालाई काममा लगाइएको छैन । उनले भने, ‘छुट्टै १५ दिन राखेपछि मात्रै काममा फर्काउनेछौं ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले चीनबाट आउने यात्रुको संख्यामा कमी आएको बताए । उनले यात्रुको संख्यामा कमी आए पनि हवाई सेवा भने प्रभावित नभएको बताए । नेपाल हवाई सेवा प्रदान गर्दै आएका चिनियाँसहित अन्य कुनै पनि विमान कम्पनीले उडान घटाएको वा रद्द नगरेको पनि बताए । उनले भने, “हामीले नै उडानमा रोके मात्रै हो, अहिलेसम्म रोकिएको छैन । कुनै पनि विमान कम्पनीले उडान घटाएको वा रद्द गरेको जानकारी गराएका छैनन् ।”
यसअघि नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भने आफ्नो चीनतर्फको उडान घटाइसकेको छ भने आगामी फेबु्रअरीबाट चीनतर्फ कुनै पनि उडान गर्ने छैन । कोरोना भाइरसका कारण पर्यटक आवागनम संख्यामा कमी आउँदा त्यसको प्रत्यस असर नेपाल भ्रमण वर्ष २०२० लाई पर्ने भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्यसहित भ्रमण वर्ष सुरु गरेको छ ।