FLASH NEWS
  • Loading...

दक्षिण कोरियाको डाइगु नगरमा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०३ पटक पढिएको
दक्षिण कोरियाको डाइगु नगरमा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

दक्षिण कोरियाको डाइगु नगरका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न सुझाएका छन्। उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन्।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा आजमात्र थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरेका थिए। कोरियाली संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ। उक्त चर्चमा एक जना कोरोना संक्रमित व्यक्ति पनि सहभागी भएका थिए।

केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना संक्रमण देखिएको थियो।

दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना भाइरसको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए।

कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरू सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।