FLASH NEWS
  • Loading...

राष्ट्रसंघीय मिसनमा कार्यरत युनिटलाई सुरक्षा सतर्कता अपनाउन सेनाको निर्देशन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११६ पटक पढिएको
राष्ट्रसंघीय मिसनमा कार्यरत युनिटलाई सुरक्षा सतर्कता अपनाउन सेनाको निर्देशन

इरान र अमेरिकाबीच शुरू भएको तनावलाई मध्यनजर गरेर नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत आफ्ना युनिट र सैनिकहरूलाई सतर्कता अपनाउन निर्देशन दिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्तिमार्फत् आफ्ना युनिटहरूलाई आवश्यक सुरक्षा सतर्कता अवलम्बन गर्न निर्देशन दिएको जानकारी गराएको हो।
सेनाले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत् इराक, लेवनान र सिरियामा तैनाथ युनिटहरूलाई सुरक्षाका उपाय अवलम्बन गर्न र सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको छ।
“इरानको रिभोल्युसनरी गार्ड कर्प्सका जनरल कासिम सुलेमानीबिरुद्धको अमेरिकी कारबाहीको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न बेसहरूमा मिसाइल आक्रमण गरेको जानकारी प्राप्त भएबाट”, जंगीअड्डाको विज्ञप्तिमा उल्लेख छ, “युनामी मिसन अन्तर्गत् इराकको किर्कुक र एर्बिलस्थित यूएन बेसमा तैनाथ नेपाली शान्ति सैनिकहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ।”
सेनाले इराकमा रहेका सबै नेपाली सैनिक सकुशल रहेकोसमेत उल्लेख गरेको छ।
त्यसैगरी, युनिफिल मिसन लेवनानमा तैनाथ युनिट र युनडोफ मिसन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरूलाई पनि विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन हेडक्वार्टर र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्क रहनसमेत निर्देशन दिइएको सेनाले जनाएको छ।