FLASH NEWS
  • Loading...

आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्दबाबा’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७८ पटक पढिएको
आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्दबाबा’

‘सिद्दबाबा’ भनिने कृष्णदास गिरीबाट साधना प्राप्ति गराउने नाममा काठमाडौंकी एक अनुयायी महिला ४ कात्तिकमा चतरास्थित आश्रममा बलात्कृत भइन्।   ‘भगवान’ मानेको गुरुबाट जबरजस्ती भएपछि पीडित ती महिलाले १० मंसीरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा गिरीविरुद्ध जाहेरी दिइन्।
‘बाबा’ को आवरणमा अपराध धन्दा चलाएका गिरी आफूविरुद्ध बलात्कारको आरोपमा प्रहरीमा उजुरी पर्नासाथ ‘हर्ट अट्याक’ भएको भन्दै विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारका लागि भर्ना भए।
अस्पतालको आइसीयूबाटै सुनसरी प्रहरीले १६ मंसीरमा कृष्णदासलाई पक्राउ गर्‍यो  “पक्राउ गर्न जाँदा अस्पतालले गिरीलाई मुटुको समस्या छ नलानू भनिरहेको थियो”, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले भने।
लामो समय सघन उपचार कक्ष (आइसीयू) मा बसेपछि अहिले अस्पतालको हाइ केयर यूनिट (एचसीयू)मा बसिरहेका कृष्णदासलाई हृदयघात भएको भनिएपनि मुटुसम्बन्धि उपचारका लागि आवश्यक पर्ने औषधि दिइएको छैन। दिइएको औषधि पनि नाममात्रको छ। बरु उनलाई लुतोको दबाई धेरै प्रयोग गरिएको पाइएको छ।
कृष्णदासको नाममा ‘एलेग्रा’ ‘एलजेरो’, ‘लुलिकेम क्रिम’ जस्ता छालाको समस्यामा प्रयोग हुने औषधि फार्मेसीबाट बढी खरिद गरिएको छ।  एक महीना अस्पताल बस्दा गिरीले करीब छ हजार रुपैयाँ बराबरको औषधी मात्र प्रयोग गरेका छन्।
“गिरीले छालासम्बन्धी समस्यामा प्रयोग हुने एण्टी एलर्जी औषधि एलेग्रा १८० ट्याब, अलजेरो, भिटामिन सी, भिटामिन बी, कफ सिरफ, लुलिकेन क्रिम, माउथ वास, केटोरिभ साबुन (छालाको इन्फेक्सन हुँदा प्रयोग हुने) प्रयोग गरेका छन्”, अस्पताल स्रोतले भन्यो।
‘कोलेस्टोरोल’ का लागि प्रयोग हुने ‘अटर २० ट्याब,’ ‘कार्डेक ५ ट्याब’, रगत जम्न नदिने औषधि ‘स्लेक्जन ६० एमजी,’ रगत पातलो बनाउने ‘क्लोपिलेट ट्याब’, ‘इकोस्पेन ७५’ औषधि भने थोरै मात्र प्रयोग भएको छ। त्यस्तै केही स्लाइनको प्रयोग गरिएको छ।
कृष्णदासले फार्मेसीबाट २९ मंसीरदेखि औषधि लगेका छैनन्। हृदयघात भएको भनेर अस्पताल भर्ना भएका कृष्णदासलाई पहिलो दिन दुई हजार ९४४ रुपैयाँको औषधि प्रयोग गरिएको थियो।
निजी अस्पतालले दिएको रिपोर्टलाई आधार मानेर प्रहरीले पनि मुद्दाको मिसिल तयार पारेको छ। जिल्ला सरकारी वकील कार्यालय, सुनसरीका न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार कृष्णदासलाई ‘मुटुको समस्या’ भनेर मेडिकलसम्बन्धी कागजात पेस गरिएको छ।
सुनसरी प्रहरीलाई कृष्णदासलाई सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनेप्रति त्यति ध्यान नदिएको आरोप लाग्न थालेको छ। प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने समय अस्पतालमा विताएका ‘सिद्दबाबा’ लाई सरकारी वकील कार्यालयले १० पुसमा सुनसरी जिल्ला अदालतमा जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरिसकेको छ।
गिरीविरुद्ध अदालतमा पेश गरिएको २० पानाको अभियोग पत्रमा सातदेखि १० वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबी गरिएको छ।
अस्पतालको बेडबाटै चलखेल
मुटुको समस्या देखाएर हिरासतको साटो अस्पतालको बास रोजेका गिरीले ‘पावर’ र पैसाको चलखेलमा मुद्दा कमजोर पार्न खोजिरहेका छन्।
अस्पतालमा कार्यरत् एक कर्मचारीले भने, “दिनहुँ बिहानदेखि बेलुकासम्मै भेट्न आउनेको लर्को लाग्छा, कस्ताकस्ता ठूला मान्छेहरु आउँछन्, ‘पावर’ देखेर हामी नै अचम्मित छौं।”
मुद्दा फिर्ता लिन महिलासँग गरेको टेलिफोन संवाद प्रहरीको विधि विज्ञान प्रयोगशालाले कृष्णदासकै भएको पुष्टि गरिसकेको छ। महिलालाई मुद्दा फिर्ता गर्न मोवाइलमा गरेको कुराकानी ७५ दशमलब ९ प्रतिशत म्याच भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।   “सामान्यतया ५१ प्रतिशत म्याच हुनासाथ त्यसलाई प्रमाण मान्न सकिन्छ”, उनले भने।
“केस फिर्ता लिन दिनहुँजसो धम्की र लोभ देखाइरहेका छन्, धर्मको नाममा भइरहेको अत्याचार मैले आँट गरेर बाहिर ल्याएँ, न्याय होला भन्ने आशा छ। अब कसैगरी पछाडि हट्दिनँ”, पीडित महिलाले भनिन्।
राज्यका उपल्लो तहका व्यक्तिहरु नै ‘सिद्दबाबा’ लाई छुटाउन लागेको र त्यसलाई प्रहरीले साथ दिएको भन्दै ११ पुसमा महिलाहरुले सुनसरी जिल्ला अदालत परिसरमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए।
संविधानसभा सदस्य अनिता परियारसहित जनप्रतिनिधि, महिला अधिकारकर्मीहरु प्रदर्शनमा सहभागी थिए। मुद्दा कमजोर पार्न प्रहरीलगायत उच्च ओहोदाका व्यक्ति नै लागि परेकोले पीडितको न्यायका लागि दवाव थालिएको महिला अधिकारकर्मी योसा गुरागाईले बताइन्।