FLASH NEWS
  • Loading...

महिलालाई अश्‍लिल मेसेज पठाउँथे ‘सिद्दबाबा’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७६ पटक पढिएको
महिलालाई अश्‍लिल मेसेज पठाउँथे ‘सिद्दबाबा’

“कल डिटेल्स रेकर्ड (सीडीआर) मा रातको समयमा उनले ‘छिटो आऊ प्यारी’, ‘मैले मौका दिएकै हो चुक्यौ’ जस्ता मेसेजहरु पठाएको भेटिएको छ।”

जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइएका ‘सिद्दबाबा’ भनिने कृष्णदास गिरीले अन्य महिला अनुयायीसँग पनि जालझेल गरेर यौन सम्बन्ध राख्‍ने गरेको अनुसन्धानको क्रममा खुलेको छ।

चतरास्थित आश्रममा उनले बोक्ने ९८५२०२५८८५ नम्बरबाट अरु महिलालाई पठाइएका मेसेजहरुलाई प्रमाणको रुपमा मुद्दाको मिसिलमा संलग्न गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन्।

“कल डिटेल्स रेकर्ड (सीडीआर) मा रातको समयमा उनले पठाएका ‘छिटो आउ’, ‘मैले मौका दिएकै हो चुक्यौ’ जस्ता मेसेजहरु भेटेका छौं त्यसलाई हामीले प्रमाणको रुपमा अदालतमा पेश गरेका छौं”, स्रोतले भन्यो।

त्यस्तै एक अनुयायीलाई फेसबुक मेसेन्जरमा ‘चिन्ता मत करो प्यारी’ भन्दै सन्देश पठाइएको छ।

एक अर्की महिलाले ‘हजुरसँग भेट्न आतुर र बाध्य भएकी छु’ भन्दै मेसेज पठाएकी छन्।

जिल्ला सरकारी वकील कार्यालय सुनसरीका न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले कृष्णदास र अन्य महिलाबीच भएका केही सन्देश प्रहरीले ‘सीडीआर’ रिपोर्टमा पेश गरेको बताए।

“हामीले ती सबैलाई मुद्दालाई थप बलियो पार्न प्रमाणका रुपमा अदालतसमक्ष पेस गरेका छौं”, निरौलाले भने।

कृष्णदासले भने बयानको क्रममा आफू ‘त्रिदण्ड’ धारण गरेको ब्रम्हचारी भएकाले महिलालाई सामूहिक मात्र भेट दिने गरेको बताएका छन्।

उनले महिलालाई एक्लै कहिल्यै नभेटेको भन्दै आफूलाइ फसाउने षड्यन्त्र भएको दाबीसमेत गरेका छन्।

कृष्णदासलाई सातदेखि १० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबीसहित सुनसरी जिल्ला अदालतमा १० पुसमा मुद्दा दायर भइसकेको छ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इलजासमा ११ पुसदेखि गिरीको थुनछेक बहस जारी छ।

कृष्णदासको पक्षमा बहस गर्न सातजना वकीलहरुले नाम टिपाएका छन्। तीमध्ये १३ पुसमा तीनजनाले बहस गरिसकेका छन्।

छ जना सरकारी वकील र पीडित महिलाको दुईजनासमेत गरी पीडितको पक्षबाट आठ जना वकीलले बहस गर्नेछन्।

दुवैतर्फको बहस सकिएपछि अदालतले सुनुवाइ थाल्नेछ।

‘भगवान’ मानेको गुरुबाट साधना प्राप्ति गर्ने नाममा काठमाडौंकी एक महिलाले  १० मंसीरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा गिरीविरुद्ध जाहेरी दिएकी थिइन्। अस्पतालको आइसीयूबाटै सुनसरी प्रहरीले १६ मंसीरमा उनलाई पक्राउ गरेको हो।

लामो समय सघन उपचार कक्ष (आइसीयू) मा बसेपछि अहिले अस्पतालकै भिआइपी क्याविनमा बसिरहेका कृष्णदासलाई हृदयघात भएको भनिएपनि मुटुसम्बन्धि उपचारका लागि आवश्यक पर्ने औषधि दिइएको छैन।

दिइएको औषधि पनि नाममात्रको छ। बरु उनलाई लुतोको दबाई धेरै प्रयोग गरिएको पाइएको छ।